दलितमाथि जघन्य अपराध हुँदा पनि प्रहरीले गम्भीरता नदेखाएको भन्दै ज्ञापनपत्र

दलित अगुवाहरूले आइतबार राजविराजमा प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

चैत्र १५, २०८२

विद्यानन्द राम

Memorandum alleging that the police did not show seriousness even when heinous crimes were committed against Dalits

राजविराज — सप्तरीमा दलित समुदायमाथि जघन्य अपराध हुँदा पनि प्रहरीले गम्भीरता नदेखाएको भन्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । दलित अगुवाहरूले आइतबार राजविराजमा प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

‘संविधानले नागरिकलाई जात, वर्ग, लिङ्गका आधारमा विभेद नगरी समानता, सुरक्षा र न्यायको अधिकार सुनिश्चित गरेको छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘तर, व्यवहारमा दलितमाथि निरन्तर भइरहेको जघन्य अपराधले संविधानको मर्ममाथि नै गम्भीर प्रहार भइरहेको यथार्थलाई अस्वीकार गर्न सकिँदैन ।’

ज्ञापनपत्रमा गत वैशाख १ गते राति घरबाटै बेपत्ता पारिएकी सुरुङ्गा नगरपालिका–७ हरिपुरकी १८ वर्षीया पूजाकुमारी राम भोलिपल्ट हत्या गरेको अवस्थामा भेटिँदा पनि पीडित परिवारले अहिलेसम्म न्याय नपाएको उल्लेख छ ।

‘एक वर्ष बित्न लाग्दा पनि अपराधी पत्ता नलाग्नुले प्रहरी र प्रशासनप्रति अविश्वास तथा घटनालाई ढाकछोप गर्न लागिएको आशंका भइरहेको छ,’ पत्रमा भनिएको छ । सोही पत्रमा चैत्र १ गते सोही नगरपालिका वडा नं.३ मा ८ वर्षदेखि बालश्रममा लगाइएकी १४ वर्षीया दलित बालिकालाई गर्भवती बनाएपछि बेपत्ता पारिएको घटना पनि उल्लेख गरिएको छ । घटनाका आरोपीहरू महेश्वर यादव र महेश्वरका सहयोगी धर्मदेव यादव अझैसम्म पक्राउ नपरेको तथा पीडितलाई बयान बदल्न धम्क्याइरहेको उल्लेख गर्दै दोषीलाई उन्मुक्ति दिने खतरनाक अवस्था सिर्जना गरेको पत्रमा दाबी गरिएको छ ।

ज्ञापनपत्रमा राम हत्या घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न, बालिकालाई गर्भवती बनाई बेपत्ता पारेर अहिले बयान प्रभावित गर्न भइरहेको षड्यन्त्र रोक्न, घटनाका फरार आरोपीहरूलाई पक्राउ गर्नलगाायतका १० बुँदे माग गरिएको छ । ती घटनाहरूका दोषीलाई कानुनी कारबाही गराउन अझ उदासीनता कायमै रहे बाध्य भएर थप सशक्त संघर्ष गर्ने उनीहरुले चेतावनीसमेत दिएका छन् ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully