गत असोजमा लखन्देही र ढंग्रा खोलाको बाढीले बगाएको सर्लाहीस्थित कौडेना गाउँपालिका–३ पर्सामा हुलाकी सडकमा बक्स कल्भर्ट बनाउने काम सुरु गरेको थियो ।
What you should know
सर्लाही — बाढीले भत्काएको सडकमा कल्भर्ट निर्माणको काम स्थानीयको अवरोधका कारण रोकिएको छ । हुलाकी सडक आयोजनाले ठेक्का लगाएर कल्भर्ट निर्माण भइरहेको हो । स्थानीयले कल्भर्ट भन्दा अघि तटबन्ध निर्माण गरिनुपर्ने माग गर्दै काम रोकेका हुन् ।
गत असोजमा लखन्देही र ढंग्रा खोलाको बाढीले सर्लाहीस्थित कौडेना गाउँपालिका–३ पर्सामा हुलाकी सडक बगाएको थियो । सडकले कटान गरेको ठाउँमा आयोजनाले तलबाट पानी निकास हुने गरी बक्स कल्भर्ट बनाउने काम सुरु गरेको थियो ।
असोज २१ मा सबै सरोकारवालाको उपस्थितिमा भएको छलफलको निर्णय अनुसार कल्भर्ट निर्माणको काम धमाधम भइरहेकोमा केही दिनदेखि स्थानीयले पहिले नदीमा तटबन्धको काम हुनुपर्ने माग गर्दै निर्माण रोकेका हुन् ।
२०८२ माघ २७ मा सुशमा आदित्य विजय निर्माण सेवा उदयपुरले २०८३ असार २५ सक्ने गरी ३ करोड ५३ लाख ३ हजार २३ रुपैयाँमा ठेक्का पाई कल्भर्टको काम अघि बढाएको थियो ।
स्थानीयले कौडेनादेखि चक्रघट्टासम्म करिब डेढ किलोमिटर तटबन्ध निर्माणको माग गरेका छन् । कौडेना–३ का रविन्द्र राय यादवले खोलामा तटबन्ध नै नगरी हुलाकी सडकमा पानीको निकास गर्न खोजेकाले काम अवरोध गर्नुपरेको बताए । उनले खोलामा तटबन्ध हुनुपर्ने स्थानमा हुलाकी सडकमा पानीको निकासले दक्षिण क्षत्रका बस्ती जोखिममा पर्ने बताए । ‘खोलामा तटबन्ध हुनपर्ने स्थानमा हुलाकीको पानी निकासकालागि मात्र काम भएको छ, यसले दक्षिणी क्षेत्रका बस्ती जोखिममा पर्छ, त्यसैले हामीले काम रोकेका हौं,’ उनले भने, ‘वर्षा याममा तटबन्ध नै दिगो समाधानको उपाय हो, तटबन्ध नगर्दा हाम्रो बस्ती सहित खेतबारी जोखिममा छ ।’
उत्तर पश्चिमतर्फबाट बर्सेनि बाढी पस्ने गरेको भन्दै स्थानीयले कल्भर्ट निर्माणमा अवरोध गरेपछि हुलाकी सडक आयोजनाका ईन्जिनियर रन्जित यादव, जलस्रोत तथा सिँचाइ विकास चन्द्रनिगाहपुरका प्रमुख अनुभव चौधरी, कौडेना गाउँपालिका अध्यक्ष रुपेश कुमारलगायतको टोलीले अनुगमन गरेको छ ।
अनुगमनको क्रममा जलस्रोत तथा सिँचाइ विकास चन्द्रनिगाहपुरका प्रमुख चौधरीले यस वर्ष बजेट नहुँदा तटबन्धका लागि अगामी वर्षसम्म कुर्नुपर्ने जानकारी दिए । हुलाकी सडक आयोजनाका ईन्जिनियर रन्जित रायले ठेक्का लागेर काम सुरु भइसकेको आयोजनामा अवरोधले समस्या भएकाे बताए । ‘तटबन्ध हाम्रो कार्यक्षेत्र भित्र पर्दैन, स्थानीयले तटबन्ध नभई सडकको काम अगाडि बढाउन दिइरहेका छैनन्,’ उनले भने, ‘बेलैमा काम गर्न नदिए त्यसको असर बर्षामा देखिन्छ ।’ उनका अनुसार बाढीको समयमा फेरि डाइभर्सन बगाउने जोखिम छ ।
कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमारले असोजमा सर्वदलीय बैठकबाट तटबन्ध र कल्भर्ट एकै पटक हुनुपर्ने माग भएकोमा कल्भर्टको ठेक्का लागेर काम सुरु भई तटबन्धको कुनै पहल नभएपछि स्थानीयले बिरोध जनाएका छन् । उनका अनुसार तटबन्ध नहुँदा खोलामा आएको बाढीले बर्सेनि हुलाकी सडक बगाउने र बस्ती कटान तथा डुबानको चपेटामा पर्दै आएको छ । सर्लाही क्षेत्र २ का नवनिर्वाचित सांसद रबिन महतोले पनि स्थानीयको माग पूरा नहुन्जेल हुलाकी सडकमा कल्भर्टको काम अघि नबढाउन निर्देशन दिएका छन् ।
