चैते छठ सम्पन्न

सोमबार साँझ सख्खर, दूध र चामलबाट तयार पारिएको खिर (रस्याउ) खाएका व्रतालुले मंगलबार दिनभरि निर्जल निराहार कठोर व्रत बसेका थिए । पर्वको सम्पूर्ण विधि पूरा गरेपछि बुधबार व्रतालु तथा तिनका परिवारका सदस्यले छरछिमेक, आफन्तजन तथा इष्टमित्रलाई प्रसाद बाँडेर चैते छठ समापन गरेका हुन् ।

चैत्र ११, २०८२

शंकर आचार्य

Chaitra Chhath is over.

पर्सा — बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रतालुले यस वर्षको चैते छठ पर्वलाई बिदा गरेका छन् ।  व्रतालुहरू झिसमिसेदेखि नै जलाशयहरूमा उभिएर सूर्योदको लामो प्रतीक्षा गरेका थिए । ‘बिहनीयाघाट’ भनिने यस दिन व्रतालुहरूले उदाउँदो सूर्यलाई बाँसको सुपुलीमा नरिवल र अन्य पूजा सामग्रीसहित अर्घ्य दिन्छन् ।

व्रत समापनपछि व्रतालुले परिवारजन, आफन्त र इष्टमित्रलाई टीका लगाइदिएका थिए । व्रतालुले परिवार तथा आफन्त इष्टमित्र महिलालाई सौभाग्यको प्रतीक नाकदेखि सिउँदोसम्म सिन्दूर र टीका लगाइदिने चलन छ ।

विवाहित महिलाले यस्तो टीका लगाउँदा छठी माताको आशीर्वादले पतिको दीर्घायु हुने र दाम्पत्य जीवन सफल हुने धार्मिक विश्वास रहेको छ । टीका आदानप्रदानपछि व्रतालुले घाटमै प्रसाद वितरण गर्ने र आफूले पनि खाने गर्छन् ।  

सोमबार साँझ सख्खर, दूध र चामलबाट तयार पारिएको खिर (रस्याउ) खाएका व्रतालुहरूले मंगलबार दिनभरि निर्जल निराहार कठोर व्रत बसेका थिए । पर्वको सम्पूर्ण विधि पूरा गरेपछि बुधबार व्रतालु तथा तिनका परिवारका सदस्यले छरछिमेक, आफन्तजन तथा इष्टमित्रलाई प्रसाद बाँडेका थिए । यस्तो प्रसाद छोरीचेलीको घरमा पठाउने चलन पनि छ । छोरीचेलीको घरमा प्रसाद लिएर प्रायः माइतीबाट दाजुभाइ जाने चलन छ ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully