अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर व्रतालुले मनाए चैते छठ

पछिल्ला केही वर्षयता चैते छठ मान्नेहरूको संख्या पनि बढेको छ । कतिपय भाकल गरेकाहरूले चैते छठ मान्ने गर्छन् ।

चैत्र १०, २०८२

शंकर आचार्य

Devotees celebrate Chaite Chhath by offering Arghya to the setting sun

What you should know

पर्सा — रौतहट घर भई वीरगन्ज बस्दै आएकी ममतादेवी १२ वर्षदेखि चैते छठको व्रत बस्दै आएकी छिन् । वीरगन्जको घडिअर्वा छठ घाटमा भेटिएकी उनले कात्तिकी र चैते दुवै छठ मान्दै आएकाले यस वर्ष पनि चैते छठको व्रत लिएको बताइन् । ‘छठी माताले भाकल पूरा गरेपछि मैले चैते छठ  पनि मान्दै आएकी छु,’ उनले भनिन्, ‘चैते छठमा पनि कात्तिके छठजस्तै पर्वको सम्पूर्ण विधि श्रद्धापूर्वक पूरा गरिन्छ ।’

वीरगन्जकै संगीतादेवीले पनि आठ वर्षदेखि चैते छठ पर्व मान्दै आएको बताइन् । छठी माताले आफ्नो भाकल पूरा गरेपछि आफूले आठ वर्षदेखि चैते छठ पर्व मान्दै आएको उनले सुनाइन् ।

व्रतालुहरूले मंगलबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् । बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर यस वर्षको चैते छठ पर्व सम्पन्न गर्ने छन् । वीरगन्जका घडीअर्वा, नगवा, मुर्ली, रानिघाट लगायतका छठ घाटमा मंगलबार साँझ व्रतालु तथा भक्तजनको बाक्लो भीड लागेको छ ।Devotees celebrate Chaite Chhath by offering Arghya to the setting sun

व्रतालुहरूले अस्ताउँदो र उदाउँदो सूर्यलाई बाँसको सुपुलीमा नरिवल, केरा, अदुवा आदिको अर्घ्य दिएर यो पर्व मनाउने गर्छन् । पर्वको तीन दिनदेखि नै व्रतालुहरूले शुद्ध चोखो भई खाना खाने विधि ‘नहाखाय’, दुध र गुडबाट पकाइएको खिर रस्याउ र रोटी खाने गर्छन् । पर्वको दिन निर्जल निराहार व्रत लिने र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि मात्र व्रतालुले प्रसाद खाएर ब्रत तोड्ने गर्छन् ।

तराईमा चैते छठभन्दा कात्तिके छठमा बढी व्रतालु हुने गर्छन् । पछिल्ला केही वर्षयता चैते छठ मान्नेहरूको संख्या पनि बढेको छ । कतिपय भाकल गरेकाहरूले चैते छठ मान्ने गर्छन् । छठको ब्रत लिँदा चर्म रोग नलाग्ने, पुत्रलाभ हुने, सौभाग्य वृद्धि हुने, परिवारमा सुख, समृद्धि आउने, परिवारका सदस्यहरू सम्भावित दुर्घटनाबाट जोगिने जस्ता धार्मिक किंवदन्ती रहेका छन् ।

विशुद्ध तराईको र सुरुमा तराई मूलले मात्रै मान्दै आएको यो पर्व पछिल्लो समय यहाँ बस्ने पहाडी समुदायले पनि विधि र श्रद्धापूर्वक मान्न थालेपछि यो पर्व मधेसी र पहाडी समुदायको धर्म, संस्कृति, चाँडपर्व र रहनसहनलाई जोड्ने, सम्मान र श्रद्धा गर्ने सेतु तथा समावेशी पर्वका रूपमा स्थापित भएको छ ।

हिन्दु धर्ममा यही मात्रै एउटा यस्तो पूजा हो- जसमा अस्ताउँदो सूर्यलाई पूजा गरिन्छ र यस पूजामा प्रायः सबै समुदायका मानिस अत्यन्त श्रद्धापूर्वक सहभागी हुने गर्छन् ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully