माटोको हात्तीलाई पूजा गर्ने यो व्रतले व्रतालुहरूको मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।
What you should know
पर्सा — मधेशमा चैते छठ सुरु भएको छ । आइतबार ‘नहाखाय’ विधिबाट चैते छठ पर्वको धार्मिक तथा पारम्परिक विधि सुरु गरेका व्रतालुले आज सोमबार ‘खरना’ विधि गर्दै छन् । ‘रस्याउ रोटी’ समेत भनिने यो विधिमा व्रतालुहरूले आज साँझ घरघरमा छठी माताको पूजा गरेर दुध र गुँड हालेर पकाइएको खिर (रस्याउ) र पुरी खानेछन् ।
व्रतालुले पकाउने रस्याउ रोटीलाई प्रसादका रूपमा परिवारका अन्य सदस्य तथा इष्टमित्रलाई खान दिने चलन छ । कतिपय व्रतालुले छरछिमेकलाई रस्याउ रोटी खान आउन अग्रिम निम्तो समेत दिन्छन् । रस्याउ रोटी खाने व्रतालु तथा अन्यले समेत दिनभरि मासुमाछा जस्ता तामसिक भोजन नगरी शुद्ध शाकाहारी बस्छन् ।
व्रतालुहरूले आज साझ रस्याउ रोटी आएपछि भोलि मंगलबार दिनभरि निर्जल निराहार ब्रत लिएर साँझ अस्ताउँदै गरेको सूर्य र पर्सि बुधबार बिहान उदाउँदो सूर्यको उपासनापछि प्रसाद खाएर मात्र ब्रत तोड्ने छन् । मंगलबार साँझ व्रतालु तथा तिनका परिवारका सम्पूर्ण सदस्य घरनजिकको पोखरी, नदी, सरोवर आदि जलाशय निर्मित आकर्षक छठी घाटमा पुग्नेछन् । नयाँनयाँ बस्त्र परिधान लगाएका व्रतालुका परिवारका सदस्यले व्रतालुको पूजा सामग्री राखिएको बासको छैंटी टाउकोमा बोकेर घाटसम्म लग्ने चलन छ । विशेष गरी परिवारका पुरुष सदस्यले यो जिम्मेवारी पूरा गर्छन् ।
छठ घाटमा व्रतालुहरूले अस्ताउँदै गरेको सूर्यलाई बाँसको सुपुलीमा नरिवल लगायत विभिन्न पूजा सामग्रीको अर्घ्य दिनेछन् । त्यसपछि उनीहरू घण्टौं घाटमा बसेर पूजा अर्चनामा लिन हुन्छन् । केही व्रतालु राति घर फर्केर आँगनमा कोसी भर्ने विधि गर्छन् ।
यो पर्वमा व्रतालुलाई पूजा अर्चना गर्न पुरोहितको आवश्यकता पर्दैन । छठ मात्र एउटा यस्तो पर्व हो, जसमा व्रतालुलाई पुरोहित आवश्यक पर्दैन । व्रतालु आफैंले पूजा गर्छन् । माटोको हात्तीलाई पूजा गर्ने यो व्रतले व्रतालुहरूको मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । यसरी कोसी भर्दा परिवारका सदस्य,आफन्त,छरछिमेकका पनि त्यहाँ पूजा अर्चना गर्न आइपुग्छन् । घाटमै बसेका व्रतालुहरू भने रातभरि त्यहीँ भजन कीर्तन गर्छन् ।
व्रतालुको घरघरमा आज सोमबार राति र भोलि मंगलबार बिहान पनि यो पर्वमा चढाइने विशेष किसिमको पिठोको ठेकुवा पकाउने छन् । यस काममा व्रतालुलाई परिवारका महिला सदस्यले सघाउँछन् । यसरी प्रसाद पकाउँदा अत्यन्त चोखोनितो गरी शुद्धता तथा पवित्रताको ध्यान राखिन्छ ।
