कसले लग्यो राजविराज कारागारभित्र गाँजा ?

छानबिन समितिले पनि पत्ता लगाउन सकेन

चैत्र ८, २०८२

विद्यानन्द राम

Who brought marijuana into Rajbiraj Prison?

राजविराज — सप्तरीको राजविराज कारागारमा गाँजा, सेवन गर्न प्रयोग हुने चिलिम र एउटा मोबाइल बरामद भेटिएको विषयमा गठित छानबिन समितिले पनि कारण पत्ता लगाउन सकेको छैन । गत माघ २० गते बिहान त्यहाँका कैदीबन्दीलाई चेक गर्दा १० ग्राम गाँजा, चिलिम र एउटा मोबाइल बरामद भएको थियो ।

घटना छानबिन गर्नका लागि जिल्ला प्रशासन कार्यालयले प्रशासकीय अधिकृतको नेतृत्वमा कारागारका प्रमुख, जिल्ला प्रहरी कार्यालयका असई र प्रशासनकै नायब सुब्बा सम्मिलित छानबिन समिति गठन गरेको थियो । तर, समितिले लामो समय लगाएर छानबिन गर्दा पनि त्यहाँसम्म गाँजा, चिलिम र मोबाइल कसले पुर्‍याएको विषय पत्ता लगाउन सकेको छैन ।

प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले कारागारमा देखिएका समस्या र त्रुटिहरू उल्लेख गरी समितिले प्रतिवेदन बुझाएको बताए । ‘ठ्याक्कै कसरी त्यहाँसम्म ती सामग्री पुगेको हो त्यस विषयमा प्रहरीको अनुसन्धानले देखाउलान्,’ उनले भने, ‘कहीँ सेटिङ-साँठगाँठ छ कि भनेर केही कर्मचारी र प्रहरीलाई सरुवाका लागि विभागलाई पत्र पठाइसकेका छौं ।’

प्रतिवेदनमा उल्लेख भएका सुरक्षा चेकमा आधुनीकीकरण, सीसीटिभी र टेस्ट मेसिनको प्रयोग, पर्याप्त मात्रामा सुरक्षाकर्मी बढाउनका लागि कारागार विभागमा आग्रह गरिसकेको उनले बताए । ‘प्रतिवेदन कार्यान्वयन भइदियो र साधन-स्रोत पर्याप्त भइदियो भन्ने कारागार व्यवस्थापनमा सुधार हुने हाम्रो अपेक्षा छ,’ प्रजिअ पोखरेलले भने ।

‘ए ब्लक’मा एउटै कोठामा बस्दै आएका महदेवा गाउँपालिका-१ का सुमित मण्डल, राजविराज नगरपालिका-६ का सुरज राउत र वडा नम्बर-५ का अभिषेक मण्डललाई चेक गर्दा ती प्रतिबन्धित सामग्री बरामद भएको थियो । घटनापछि चोरी, हातहतियार तथा लागूऔषध ओसारपसारसम्बन्धी मुद्दामा ४ वर्ष सजाय भोगिरहेका सुमित र कर्तव्य ज्यानसम्बन्धी मुद्दामा ३ वर्ष ४ महिना कैद काटिरहेका सुरजलाई रौतहट कारागार पठाइएको छ भने विभागबाट अनुमति पाउन बाँकी रहँदा ठगी तथा नागरिकता कसूरमा थुनुवा रहेका अभिषेक यहीँ छन् ।

यता, प्रहरीले पनि बरामद भएको मोबाइलको ‘कल हिस्ट्री’बाट अनुसन्धान अघि बढाए पनि अहिलेसम्म कारण खुलाउन सकेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले त्यस विषयमा अनुसन्धान भइरहेको बताए । ‘अहिले हामी अनुसन्धानकै क्रममा छौं,’ उनले भने ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully