मंगलबार साँझ अस्ताउँदो सूर्य र बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको चैते छठ पर्व समापन हुनेछ ।
पर्सा — चैते छठको धार्मिक विधि सुरु भएको छ । व्रतालुहरूले आइतबार ‘नहा खाय’ विधि सुरु गरेका छन् । यस दिन व्रतालुहरूले स्नान गरेपछि शुद्ध चोखो गरी पकाइएको दाल,भात तथा लौकाको तरकारी खाने गर्छन् । व्रतालुहरूले आजबाट तामसी भोजन गर्दैनन् ।
वीरगन्ज राधेमाईकी व्रतालु अधिवक्ता प्रतिमा चौरसियाले व्रतालुहरूले सोमबार साँझ सख्खर, दूध र चामलबाट तयार पारिएको खिर (रस्याउ) खाने र मंगलबार दिनभरि निर्जल निराहार व्रत बस्ने बताइन् । मंगलबार साँझ अस्ताउँदो सूर्य र बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको चैते छठ पर्व समापन हुनेछ ।
तराईमा कात्तिकी र चैते गरी वर्षमा २ पटक छठ पर्व मान्ने चलन छ । कतिपय व्रतालुले कात्तिकी छठ मात्र मान्ने गर्छन् । कतिपयले दुवै र केहीले भाकल पूरा भएपछि मात्र चैते छठको व्रत लिने गरेका छन् ।
छठ पर्वका लागि छठ घाटहरूको सरसफाइ र सिंगार्ने काम सुरु भइसकेको छ । वीरगन्जको घडिअर्वा पोखरी छठ घाटमा भव्य छठ हुने गरेको छ । सूर्य उपासनाको यो पर्वमा सूर्यलाई नरिवल, अदुवा, उखु र यस पर्वको अनिवार्य प्रसाद ठेकुवा आदिको अर्घ्य दिने गरिन्छ ।
घरमा एक जना व्रतालु हुँदा सिंगो परिवार नै व्रतालुलाई सघाउने काममा लागिपरेका हुन्छ । छठ पूजा गर्दा सौभाग्य एवं सन्तान प्राप्तिको साथै चर्म रोग निको हुने जनविश्वास रही आएको छ । पछिल्ला केही वर्षयता चैते छठ मान्नेहरूको संख्या पनि बढ्दै गएको छ ।
