एकअर्काका लागि चिन्तित सदा दम्पतीको एकैदिन निधन

बेलैमा श्रीमतीको उपचार गराउन नसक्दा पछुतो मानिरहेका फुलेश्वर सदाको शुक्रबार राति २ बजे निधन भयो । ४ घण्टा नबित्दै शनिबार बिहान ६ बज्नुअघि नै श्रीमती दुर्गीदेवीको पनि निधन भएको हो ।

चैत्र ७, २०८२

विद्यानन्द राम

Couple, always worried about each other, die on the same day

What you should know

राजविराज — विरामी रहेकी श्रीमतीको उपचार गराउन नसक्दा चिन्तित थिए, ७२ वर्षका फुलेश्वर सदा । सप्तरीको रुपनी गाउँपालिका–४ छपकीका सदाकी ७० वर्षकी श्रीमती दुर्गीदेवीको ढाडमा मासु पलाएर समस्या भइरहँदा उनी लामो समयदेखि चिन्तित थिए । 

आर्थिक अभावका कारण दुर्गीदेवीको समयमै उपचार गराउन सकेन । फलेश्वर पनि बेलाबखत विरामी नै रहन्थे। आर्थिक रुपमा अति विपन्न रहेका दम्पतीका एक मात्र छोरा हिरण सदा ज्याला मजदुरी गर्थे । मजदुरीको कमाइले ७ जना परिवारको दैनिकी चलाउन नै कठिनाइ हुँदा उनले बुवाआमाको बेलैमा उपचार गराउन सकेनन् ।

पछिल्लो पटक सरसापट गरेर हिरण आमा दुर्गीदेवीको ढाडमा पलाएको मासुको अप्रेसन गराउन धरान पुगेका थिए । तर, उमेर बढी भइसकेको कारण देखाउँदै अप्रेसन नगराउन चिकित्सकले सुझाव दिएपछि हिरणले आमालाई लिएर घरै फकिँदा फुलेश्वरलाई अझ तनाव भइरहेको थियो । 

बेलैमा श्रीमतीको उपचार गराउन नसक्दा पछुतो मानिरहेका फुलेश्वरको शुक्रबार राति २ बजे निधन भयो । ‘बुवालाई आमाको बेलैमा उपचार गराउन नसक्दाको पीर थियो,’ हिरणले भने, ‘पैसाको जोहो भएपछि पहिला बुवाको उपचार गराउनु भनी आमाले भन्नुहुन्थ्यो । पैसाको जोहो नभएर बेलैमा बुवाआमाको उपचार गराउन सकिन ।’

फुलेश्वरको निधन भएको ४ घण्टा नबित्दै शनिबार बिहान ६ बज्नुअघि नै दुर्गीदेवीको पनि निधन भएको हो । बुवाआमाको एकैदिन निधन हुँदा हिरण शोकको बेला पनि किरिया खर्चका लागि चिन्तामा छन् । ‘दैनिक मजदुरी गर्दा त्यसवापत आउने ज्यालाले परिवारको छाक टार्दै आएको छु । अब १३ दिनसम्म त मजदुरीमा जान पनि मिल्दैन,’ उनले भने, ‘छाक टार्नै मुस्किल छ, त्यसमाथि किरिया खर्चका लागि अझ तनाव भइरहेको छ ।’  

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully