बालिका संरक्षणको जिम्मेवारी लिएकी रिता सरकारी कर्मचारी हुन् । उनी स्थानिय वडा कार्यालयमा खरिदार पदमा कार्यरत छिन् । बालिका सहित रीता र उनको श्रीमान पनि सम्पर्कमा छैनन् ।
काठमाडौँ — एक साता भइसक्यो, सप्तरीको सुरुङ्गा नगरपालिका–३ बाट १४ वर्षीया बालिका बेपत्ता भएकी छन् । ३ वर्षको उमेरमा बाबु गुमाएकी र ६ वर्षको उमेरमा आमा गुमाएकी ती बालिका पछिल्ला ८ वर्षयता स्थानीय रिता यादवले संरक्षणको जिम्मेवारीमा उनकै घरमा बस्दै आएकी थिइन् । एक साता अघि आफन्तहरूले सोधखोज गरेपछि उनी बेपत्ता भएको सार्वजनिक भयो ।
मृत्युअघि बालिकाका बाबु रीताकै घरमा हरवाचरवाको काम गर्थे । बालिकाकी दिदी पनि त्यही घरमा घरेलु कामदारका रूपमा काम गर्थिन् । अहिले भने उनको बिहे भइसकेको छ । रिताले बालिकालाई विद्यालयमा भर्ना गरी पढ्न लगाउने, अन्य समयमा घरका सामान्य कामकाज गराउने र उमेर पुगेपछि बिहेसमेत आफ्नैतर्फबाट गरिदिने मौखिक सहमति गरेर बाबुआमाको मृत्युपछि ती बालिकालाई आफ्नो घरमा राख्दै आएकी थिइन् । तर सहमतिअनुसार रीताले उनलाई स्कुलमा भर्ना भने गरिनन् । बरु उनी घरेलु कामदारका रूपमा काम गर्दै आएकी थिइन् ।
गत शनिबार बालिकालाई हेर्न उनकी काकापट्टीकी भाउजुसहितका गाउँले यादवको घरमा पुगेका थिए । तर त्यतिबेला बालिका थिइनन् । उनलाई संरक्षणको जिम्मेवारी लिएर लगेकी यादव पनि घरमा थिइनन् । आफन्तहरूले स्थानीय आफन्त र चिनेजानेकाको घर–घरमा पुगेर बालिकाको खोजी गरे । तर बालिका भेटिइनन् । बालिका नभेटिने र संरक्षणमा राख्नेहरू पनि सम्पर्कमा नआएपछि उनीहरूले गत बुधबार इलाका प्रहरी कार्यालय कडरबोनामा पुगेर उजुरी दिए । तर बालिकाको अवस्था अझैसम्म अज्ञात छ ।
उनकी काकापट्टीकी भाउजुले कान्तिपुरसँग भनिन्, ‘बालिका ८ वर्षदेखि यादवकै घरमा काम गरेर बस्दै आएकी थिइन् । अहिले बेपत्ता छिन् । संरक्षणको जिम्मेवारी लिएकी रिता र उनका श्रीमान् पनि घरमा छैनन् ।’ उनले प्रहरीमा घटनाबारे सबै जानकारी दिँदासमेत बालिकाको खोजी गर्न तदारुकता नदेखाएको गुनासो गरिन् ।
बालिका संरक्षणको जिम्मेवारी लिएकी रिता सरकारी कर्मचारी हुन् । उनी सोही वडा कार्यालयमा खरिदार पदमा कार्यरत छिन् । रिताको घरमा वृद्ध सासु ठकनीदेवी यादव मात्रै छिन् । वृद्धको पनि खुट्टामा समस्या भएर हिँडडुल गर्न कठिन भइरहँदा उनको रेखदेख गर्न आफन्त बताउने सिरहाको लहान नगरपालिका–१३ पिरर्बनीका वृद्धवृद्धा त्यहाँ पुगेका छन् । तर दुवै जनाले महेश्वर र रिता बाहिर रहेको बताए पनि यसबारे अरू बताउन चाहेनन् ।
महेश्वर र रिता कहाँ छन् ? यसबारे उनका छिमेकीहरूले पनि केही बताउन सकेनन् । उनीहरूको मोबाइलमा समेत सम्पर्क हुन सकेको छैन । वडाध्यक्ष किरणकुमार पोखरेलले ती कर्मचारी बिदामा रहेको बताए । ‘उहाँ ३/४ दिनदेखि कार्यालय आउनुभएको छैन । अब उहाँले घरमा कस्ता खालका श्रमिक राख्नुभएको थियो, त्यो मलाई जानकारी छैन,’ वडाध्यक्ष पोखरेलले भने, ‘अहिलेसम्म त्यस विषयमा मलाई धेरैले सोधिसक्नुभएको छ ।’
सुरुङ्गा नगरपालिका बालश्रममुक्त पालिका हो । कर्मचारीले बालिकालाई घरेलु कामदारका रूपमा राखेको विषयमा नगरपालिकाकी नगरप्रमुख गीता चौधरी जानकार छिन् । उनी भन्छिन्, ‘बुवाआमा नहुँदा बालिका बेसहारा थिइन्, अनि कर्मचारीले घरमा राखेर सहारा दिएको विषयमा मेरो जानकारी छ, तर त्यो घटनाको विषयमा म स्पष्ट छैन ।’ के भएको हो भन्नेबारे बुझ्ने कार्य भइरहेको नगरप्रमुख चौधरीको भनाइ छ ।
दलित अभियन्ता सलिता सदाले बेपत्ता पारिएकी बालिकाको अविलम्ब खोजी हुनुपर्ने माग गरिन् । ‘पीडित परिवार कानुनी प्रक्रियाबारे जानकार छैन, प्रहरीले झन् सहज गरिदिनुपर्नेमा पटक–पटक बोलाएर दुःख दिइरहेका छन्,’ उनले भनिन्, ‘सहज रूपमा अनुसन्धान गर्न प्रहरीसँग आग्रह छ । अन्यथा हामी चुप लागेर बस्दैनौँ ।’
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले बालिकाकी आफन्तले दिएको उजुरीअनुसार अनुसन्धान भइरहेको बताए । ‘बालिकालाई उनकै दिदीले त्यहाँबाट लगेको प्रारम्भिक अनुसन्धानले देखिन्छ, तर उनको दिदी पनि घरमा भेटिएकी छैनन्,’ उनले भने, ‘सम्बन्धित ठाउँमा पुगेर थप अनुसन्धान भइरहेको छ ।’
