६ दशकदेखि लालपूर्जा पर्खिरहेका डलवावासी

वर्सेनि बाढीको कहर खेपिरहेका उनीहरु ६ दशकसम्म बासस्थानको लालपूर्जा नपाउँदा चिन्तित छन् ।

फाल्गुन ३०, २०८२

विद्यानन्द राम

Residents of Dalwa have been waiting for the Lalpurza for 6 decades

What you should know

राजविराज — कोशी नदी र तटबन्धले आफ्नो जग्गा मासिँदा विस्थापित भएका १ सय परिवार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ डलवामा बस्ती सारे । वर्सेनि बाढीको कहर खेपिरहेका उनीहरु ६ दशकसम्म बासस्थानको लालपूर्जा नपाउँदा चिन्तित छन् ।

सन् १९५४ मा कोशी सम्झौता भएर १९६२ मा कोशी ब्यारेज निर्माण हुनअघि उनीहरुको बासस्थान अहिले बसोबास गरिरहेको स्थानभन्दा ५/६ सय मिटर पूर्वतिर थियो । भारत सरकारले ‘लिज’मा लिएको जग्गामा ६० वर्षअघि बस्तीको पश्चिमतर्फ तटबन्ध बनाएपछि उनीहरुलाई तटबन्धभन्दा पश्चिमतर्फ सारिएको थियो । उनीहरुले अझैसम्म लालपूर्जा नपाउँदा उनीहरु समस्यामा छन् । ‘आफ्नो जग्गाबाट विस्थापित हुँदा २०२० सालमै यहाँ सार्न लगाइयो । त्योबेला लालपूर्जा उपलब्ध गराउने भनिए पनि कसैले पहल गरिदिएनन्,’ ७५ वर्षका सुकदेव यादवले भने, ‘म सानै थिए । जसोतसो यहाँ घर त बनाए तर लालपूर्जा नहुँदा बैंकबाट ऋण लिएर व्यापार–व्यवसाय गर्न सकिएको छैन । छोरीको बिहेबारीमा पनि ऋण पाउन मुस्किल झेलिरहेका छौं ।’ 

अहिलेकोभन्दा पूर्वतिर तटबन्ध रहँदा टोलबासीले ७ सय विघा जग्गामा खेतीपातीसमेत गर्दै आएका थिए । पश्चिमतर्फ तटबन्ध सार्दा खेतीयोग्य जग्गामा बालुवा भरेर खेतीपाती पनि चौपट भएको सोही ठाउँका रामकृष्ण यादवले गुनासो गरे । ‘यहाँका सर्वसाधारणलाई दैनिकी चलाउन पनि कठिन भइरहेको छ,’ उनले भने, ‘लालपूर्जा त महत्वपूर्ण नै, पुरानै ठाउँमा तटबन्ध पनि बनाइदिएको भए दैनिकी सहज हुन्थ्यो ।’ उनका अनुसार तटबन्धभन्दा पश्चिमतर्फ पर्ने साविक रम्पुरा मल्हनियाँ गाविस–१, २, ३ र ४ का ५ सय सर्वसाधारणले  वर्षौंदेखि कठिनाइपूर्ण अवस्थामा दैनिकी चलाइरहेका छन् । 

Residents of Dalwa have been waiting for the Lalpurza for 6 decades

त्यहाँ तटबन्धभन्दा पूर्वतर्फ बसोबास गरिरहेका ४ सयभन्दा बढी सुकुम्बासी परिवार अझ समस्यामा छन् ।  वर्षायाममा हरेक वर्ष बाढीको त्रासले उनीहरु एक महिनासम्म अग्लो स्थान खोजेर त्रिपालमूनि बस्नुपर्ने बाध्यता खेप्दै आए पनि बस्ती स्थानान्तरणको लागि कसैले पहल नगरेको सखुवाका ६५ वर्षीय रामु पासवान दुखेसो गर्छन् । ‘आफ्नो जीन्दगी त जसोतसो काटियो । सन्तानलाई पनि त्यसैगरी दुःख गरेर चलाउन पर्ने चिन्ता भइरहन्छ,’ उनले भने, ‘हाम्रा दुःखद् अवस्था हेरेर पनि सुरक्षित ठाउँमा बस्ती सार्न कसैको ध्यान पुगेन ।’ 

सोही ठाउँका ६९ वर्षीय सोवित पासवानका अनुसार सखुवादेखि योगिनियाँ, सकरदही, हनुमाननगरसम्म ४ सयभन्दा बढी सुकुम्बासी परिवार छन् । ती परिवारलाई हरेक वर्ष असारदेखि भदौसम्मै घर–आँगनमा कोशी नदीको बाढीको दुःख दिँदै आएको छ भने धेरैजसो सुकुम्बासी बस्तीसम्म अझै एम्बुलेन्स र बारुणयन्त्र पुग्ने अवस्था छैन् । आमाबुवा पनि सुकुम्बासी भएरै बितेको दुखेसो गर्दै पासवानले आफुहरु पनि सुकुम्बासी भएरै मर्ने चिन्ता भएको बताउँछन् । 

हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख विरेन्द्र माझीले कोशी सम्झौताअनुसार डलवाको जग्गा भारतको विहार राज्य सरकारको अधिनमा रहेकोले लालपूर्जाका लागि स्थानीयस्तरबाट पहल गरेर सम्भव नहुने बताए । ‘प्रयास नगरेको होइन । दुई देशको मामिला रहेकोले उच्चस्तरीय पहल विना सम्भव देखिएन,’ उनले भने, ‘त्यसबाहेक सुकुम्बासी परिवारका लागि भूमि समस्या समाधान आयोग जिल्ला समितिसँगको सहकार्यमा कार्य अघि बढाइएको छ ।’ 

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully