दुई महिनाभन्दा बढी समयदेखि डायलासिसको ‘लिक्विड वेस्ट’ले कार्यालय परिसर दुर्गन्धित भएको छ।
What you should know
राजविराज — सप्तरीको रुपनी गाउँपालिका–२ कटैयाकी लक्ष्मीदेवी अधिकारीले खोकी लागेर थला परेका श्रीमान् ६५ वर्षका मोतिलाल अधिकारीलाई उपचार गराउन गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गराइन् ।
मोतिलाललाई अत्यधिक खोकी लागिरहेकाले क्षयरोग पहिचान गर्नका लागि पनि उनको खकार परीक्षण गर्न चिकित्सकले सुझाव दिए । दुई दिनअघि ६० वर्षकी लक्ष्मीदेवी खकारको नमूना बोकेर स्वास्थ्य कार्यालय पुगिन् ।
शुक्रबार बिहान परीक्षण रिपोर्ट संकलन गरेर फर्किएकी उनी दिउँसो पुन: औषधि लिनका लागि स्वास्थ्य कार्यालय पुगिन् । तर, तीन पटकसम्म स्वास्थ्य कार्यालय पुगिसकेकी लक्ष्मीदेवीलाई कार्यालय परिसरमा फैलिएको दुर्गन्धले खिन्न पारेको छ । नाक थुनेर कार्यालय परिसरमा पसेकी लक्ष्मीदेवी भनिन्, ‘श्रीमान् विरामी रहँदा दौडधूपले हैरान भइसकेकी छु । त्यसमाथि यो दुर्गन्धले अर्को रोग पो सर्ने चिन्ता छ ।’
स्वास्थ्य कार्यालय परिसर नै दुर्गन्धित भएर रोग लाग्नसक्ने चिन्ता गर्ने उनी प्रतिनिधिमूलक पात्र मात्रै हुन् । यहाँ दैनिक ७/८ जना सेवाग्राही क्षयरोग पहिचान गराउनका लागि खकार बोकेर आउने गर्छन् । तर, दुई महिनाभन्दा बढी समयदेखि डायलासिसको ‘लिक्विड वेस्ट’ (डायलाइजर मेसिनले रगतबाट छानिएको फोहोर) ले कार्यालय परिसर दुर्गन्धित छ । दुर्गन्धले सेवाग्राही नाक थुनेर सेवा लिन बाध्य छन् भने सेवाग्राही र त्यस आसपासका स्थानीयमा रोग सर्ने चिन्ता बढाएको हो ।
गजेन्द्रनारायण सिंह अस्पतालमा हुने डायलासिसबाट निस्किने ‘लिक्विड वेस्ट’ परिसर भएर बगिरहँदासमेत स्वास्थ्य कार्यालयले व्यवस्थापन गराउन सकेको छैन् । दुर्गन्धले जनस्वास्थ्यमा नकारात्मक प्रभाव पार्नसक्ने भन्दै स्वास्थ्य कार्यालयका प्रमुख डा.सतिशकुमार यादवले अस्पताललाई काटेको पत्रमै उल्लेख छ । तर, पत्र काटेको दुई साताभन्दा बढी समयसम्म पनि अस्पतालले टेरेको छैन् । अस्पतालका सूचना अधिकारी दिपेन्द्र यादवले फोहोर पानी व्यवस्थापन गर्नका लागि संरचना निर्माण भइरहेको बताए । ‘सम्भवत: आइतबार/सोमबारसम्म व्यवस्थापन गरिसक्छौं’, उनले भने ।
