पर्सामा समानुपातिकतर्फ रास्वपाको सबैभन्दा धेरै मत

निर्वाचन कार्यालयका अनुसार, चारवटै क्षेत्रको मत जोड्दा रास्वपा अन्य दलभन्दा निक्कै अघि देखिएको हो ।

फाल्गुन २६, २०८२

शंकर आचार्य

RSVP gets the most votes in Parsa for proportional representation

पर्सा — पर्सा जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा समानुपातिकतर्फको मतगणना सम्पन्न हुँदा रास्वपाले सर्वाधिक मत प्राप्त गरेको छ ।

निर्वाचन कार्यालयका अनुसार, चारवटै क्षेत्रको मत जोड्दा रास्वपा अन्य दलभन्दा निक्कै अघि देखिएको हो । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार, जिल्लामा रास्वपाले १ लाख ३६ हजार ८ सय ९३ मत प्राप्त गरेको छ । दोस्रोमा रहेको कांग्रेसले ४२ हजार ३ सय १५ मत, एमालेले ३६ हजार ३ सय २७ मत प्राप्त गरेका छन् ।

अन्य दलहरूमध्ये जसपा नेपालले ७ हजार ७ सय ८९ मत, नेकपाले ५ हजार १ सय ५७ मत र राप्रपाले ९ हजार १ सय ५९ मत पाएका छन् । क्षेत्रगत रूपमा हेर्दा पर्सा–१ मा रास्वपाले ३४ हजार ४ सय ६३ मत प्राप्त गर्दा एमालेले ९ हजार २ सय ३१ र कांग्रेसले ८ हजार २ सय ६७ मत ल्याएका छन् । 

पर्सा–२ मा रास्वपाले ३४ हजार ९ सय १८ मत प्राप्त गरेको छ भने कांग्रेसले १० हजार ३ सय ४० र एमालेले ८ हजार ५ सय ८५ मत प्राप्त गरेका छन् ।

त्यसैगरी पर्सा–३ मा रास्वपाले ३७ हजार १ सय २३ मत प्राप्त गर्दा कांग्रेसले १२ हजार १ सय ९६ र एमालेले ८ हजार ५ सय ७६ मत ल्याएका छन् । 

पर्सा–४ मा रास्वपाले ३० हजार ३ सय ८९ मत प्राप्त गरेको छ भने कांग्रेसले ११ हजार ५ सय १२ र एमालेले ९ हजार ९ सय ३५ मत पाएका छन् ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully