सबै क्षेत्रको मतपेटिका सम्बन्धित संकलन केन्द्रमा ल्याउने काम भइरहेको छ ।
रौतहट — रौतहटका चारवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । निर्धारित समय बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म कुनै अप्रिय घटना नभएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
निर्वाचन सुरक्षित र व्यवस्थित बनाउनको लागि सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सुरक्षा व्यवस्था मिलाइएको थियो । सुरक्षा निगरानी कडा पारिएकाले मतदान शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग पुगेको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए ।
चार वटा निर्वाचन क्षेत्र रहेको रौतहटमा सबै क्षेत्रको मतपेटिकाहरू सम्बन्धित संकलन केन्द्रमा ल्याउने काम भइरहेको र मतगणना गर्ने तयारी समेत भइरहेको निर्वाचन अधिकृत छोटेलाल दासले बताए ।प्रमुख दासका अनुसार क्षेत्र नम्बर १ गौरमा रहेको जुद्ध माध्यमिक विद्यालयमा मतगणना हुनेछ भने क्षेत्र नम्बर २ को ब्रह्म ज्योति मावि लौकाहा, ३ को जनता मावि कटहरिया र ४ को जनज्योति उच्च मावि चन्द्रपुरमा मतगणना हुने निर्वाचन अधिकृत दासले बताए ।
उनका अनुसार आज रातिदेखि नै मतगणना सुरु गर्ने तयारी भइरहेको छ। मतपेटिका संकलन तथा आवश्यक व्यवस्थापन कार्य सम्पन्न भएपछि रातिबाटै मतगणना प्रक्रिया अघि बढाइने उनले बताए ।
