सप्तरीमा ६६ कैदीबन्दीले गरे मतदान

मतदान सम्पन्न भइसकेर मतपेटिका सिल गरिएको कारागार प्रमुख रुपक मण्डलले बताए । ‘

फाल्गुन २१, २०८२

विद्यानन्द राम

66 prisoners cast their votes in Saptari

राजविराज — सप्तरी कारागारका ६६ जना कैदीबन्दीले मतदान गरेका छन् । त्यहाँ बिहान ७ बजेदेखि मतदान सुरु भएको थियो । बिहान करिब ११ बजेसम्ममा ६६ जना कैदीबन्दी र २ जना कर्मचारीले मतदान गरेका हुन् ।

मतदान गर्ने कर्मचारीमा एक मतदान अधिकृत र एक अहेब छन् । मतदान सम्पन्न भइसकेर मतपेटिका सिल गरिएको कारागार प्रमुख रुपक मण्डलले बताए । ‘मतपेटिका सिल गरेर हामी पर्खिरहेका छौं,’ उनले भने, ‘५ बजेपछि सप्तरी–२ का निर्वाचन अधिकृतको कार्यालयसमेत रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याइने छ ।’

उनका अनुसार कारागारमा महिला, पुरुष, बालबालिका र ज्येष्ठ नागरिक गरी कुल ३९१ जना कैदीबन्दी छन् । तर, अन्यको मतदाता नामावलीमा नाम छैन । निर्वाचन अयोगबाट ६९ जना कैदीबन्दीको नामावली आउँदा एक जना सरुवा भएको र २ जना रिहा भइसकेको कारागार प्रमुख मण्डलले बताए ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully