जिल्लाभरमा शान्तिपूर्ण ढंगले मतदान जारी छ ।
सिरहा — सिरहामा दिउँसो साढे १ बजेसम्म ५१ प्रतिशत मतदान सम्पन्न भएको छ । बिहान ७ बजेदेखि मतदान सुरु भएकामा साढे ६ घण्टामा ५१ प्रतिशत हाराहारी मतदान सम्पन्न भएको हो ।
चार निर्वाचन क्षेत्र रहेको सिरहामा कुल ४ लाख ५३ हजार ६४५ मतदाता छन् । सिरहा–१ मा एक लाख ११ हजार ९४९, सिरहा–२ मा एक लाख १५ हजार ७६०, सिरहा–३ मा एक लाख १९ हजार २५० र सिरहा–४ मा एक लाख ६ हजार ६८६ मतदाता छन् ।
जिल्लाका विभिन्न स्थानमा गरी मतदानका लागि ५ सय ३१ मतदान केन्द्र कायम गरिएका छन् । जिल्लाभर शान्तिपूर्ण ढंगले मतदान जारी छ ।
