पर्सामा बम बनाउन प्रयोग हुने विस्फोटकसहित नेकपा उम्मेदवार मनोजकुमार चौधरी पक्राउ

बरामद भएको वस्तु ‘होक्स’ रहेको र यसबाट आवश्यक परिमाणमा बम बनाउन सकिने एसपी पाठकले बताए ।

फाल्गुन २०, २०८२

शंकर आचार्य

पर्सा — पर्सामा बम बनाउन प्रयोग हुने विस्फोटकसहित प्रहरीले नेपाल कम्युनिष्ट पार्टी पर्सा क्षेत्र नं २ का उम्मेदवार मनोज कुमार चौधरीसहित तीन/चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

पर्सा प्रहरीले बुधबार बिहान पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा पर्सा प्रहरी उपरीक्षक सुदीपराज पाठकले पर्सागढी नगरपालिका–३ बडनिहार बजार क्षेत्रमा मंगलबार राति करिब सवा १० बजेको समयमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त चेकिङ टोलीले हरपुरबाट बडनिहारतर्फ आउँदै गरेको बा १० च १२५० नम्बरको गाडी रोकी चेक जाँच गरेको थियो ।

गाडीको पछाडिको डिक्कीभित्र टेपले बेरिएको चौपाटे आकारको टिनको बाकस फेला परेपछि शंका लागेर गाडीमा सवार चार जनालाई नियन्त्रणमा लिइएको थियो । चौधरीसँगै अन्य पक्राउ पर्नेमा बारा प्रसौनी गाउँपालिका–४ का २६ वर्षीय सहाब आलम अन्सारी, धनुषाधाम नगरपालिका–९ का ३० वर्षीय सुरज कार्की र पर्सागढी नगरपालिका–३ का ६८ वर्षीय सत्यनारायण थारु रहेका छन् ।

बरामद भएको वस्तु ‘होक्स’ रहेको र यसबाट आवश्यक परिमाणमा बम बनाउन सकिने एसपी पाठकले बताए । उम्मेदवार चौधरीले चढेको गाडीबाट उक्त वस्तु बरामद भएकाले त्यसको जिम्मेवार उनी नै हुनु पर्ने उनले बताए । घटनाको अनुसन्धान भई रहेको र त्यसपछि यस घटनाको बारेमा थप जानकारी दिइने उनले बताए ।

पक्राउ परेकामाथि विस्फोटक पदार्थसम्बन्धी कसुर, सार्वजनिक शान्तिविरुद्धको कसुर तथा निर्वाचनसम्बन्धी कसुरमा अनुसन्धान तथा कारबाही अघि बढाइने उनले बताए । सेनाको डिस्पोजल टोलीले बुधबार बिहान उक्त वस्तुलाई डिस्पोज गरेको छ ।

पक्राउ परेका उम्मेदवार चौधरी वीरगन्ज अलौ निवासी हुन् । उनी नेकपा नेता माधव नेपाल निकट मानिन्छन् । लामो समय अनेरास्ववियु र एमालेको युवा संगठनको राजनीतिमा उनी संलग्न थिए ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully