सरकारसँग भएको १० बुँदे सहमति कुनै सौदाबाजी नभई जनदबाबबाट प्राप्त प्रतिबद्धता भएकाले बिना ढिलाइ पूर्ण कार्यान्वयन हुनुपर्ने चेतावनी दिएका छन्।
काठमाडौँ — मधेशी युवाहरूले प्रतिनिधि सभा निर्वाचनअघि संघीयता, समावेशिता र संरचनागत सुधारका मुद्दालाई केन्द्रमा राख्दै लिखित प्रतिबद्धता मागसहित स्पष्ट राजनीतिक अडान सार्वजनिक गरेका छन्।
विभिन्न जेन–जी युवा र समितिहरुले संयुक्त वक्तव्य निकाल्दै मधेशलाई नेपालको अर्थतन्त्र, श्रमशक्ति र लोकतान्त्रिक आन्दोलनहरूको मेरुदण्ड बताउँदै राज्यसत्तामा योजनाबद्ध उपेक्षा अझै अन्त्य नभएको उल्लेख गरिएको छ।
मधेश आन्दोलन, थरुहट आन्दोलन र मुस्लिम आन्दोलन लाई पहिचान, समानुपातिक प्रतिनिधित्व र राज्य पुनर्संरचनाका ऐतिहासिक संघर्षका रूपमा स्मरण गर्दै तिनका अपूरा माग कार्यान्वयन गर्न दबाब दिइएको छ।
युवाहरूले संघीयताको वास्तविक कार्यान्वयन, प्रदेशलाई अधिकार हस्तान्तरण र प्रदेश प्रहरी गठन, विभिन्न आयोगका प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कारबाही, पाठ्यक्रममा मधेश र पहिचान आन्दोलनको समावेश, जनसंख्याअनुसार निर्वाचन क्षेत्र पुनर्संरचना, कृषि–सिँचाइ सुधार, चुरे क्षेत्र संरक्षण, बन्द उद्योग पुनः सञ्चालन (जनकपुर चुरोट कारखानासहित), भाषा अधिकार सुनिश्चित, नागरिकता समस्या समाधान, स्वास्थ्य पूर्वाधार विस्तार र हुलाकी राजमार्ग जस्ता आयोजना समयमै सम्पन्न गर्न माग गरेका छन्।
सरकारसँग भएको १० बुँदे सहमति कुनै सौदाबाजी नभई जनदबाबबाट प्राप्त प्रतिबद्धता भएकाले बिना ढिलाइ पूर्ण कार्यान्वयन हुनुपर्ने चेतावनी दिँदै युवाहरूले स्पष्ट सन्देश दिएका छन्- मधेश अब वाचा होइन, कार्यान्वयन चाहन्छ, प्रतीकात्मक प्रतिनिधित्व होइन, वास्तविक शक्ति साझेदारी चाहन्छ।
