वीरगन्जमा कृषि सामग्रीको ५० हजार टन मल थुप्रियो

कृषि सामग्री कम्पनीको वीरगन्ज प्रादेशिक कार्यालयलाई अहिले आफ्ना सबै गोदाम भरिएपछि थप भित्रिदै गरेको मल भण्डारण गर्न हम्मे हम्मे परेको छ ।

फाल्गुन १६, २०८२

शंकर आचार्य

50,000 tons of agricultural fertilizer piled up in Birgunj

What you should know

पर्सा — कोटा अनुसारको मल जिल्लाले नलागेको र नियमित रुपमा मल भित्रिन थालेपछि वीरगन्जमा कृषि सामग्री कम्पनीको मल थुप्रिएको छ ।

कम्पनीको वीरगन्ज प्रादेशिक कार्यालयलाई अहिले आफ्ना सबै गोदाम भरिएपछि थप भित्रिदै गरेको मल भण्डारण गर्न हम्मे हम्मे परेको छ ।  

कम्पनी प्रादेशिक कार्यालय प्रमुख दुर्गाप्रसाद पाण्डे थप भित्रिरहेको मललाई भण्डारण गर्ने गोदामको अभाव भएकाले भाडाको नयाँ गोदाम खोज्न थालिएको बताउँछन् । ‘नियमित रुपमा मल भित्रिएको छ, कोटाकाे मल लागेको छैन,’ उनले भने, ‘अब भण्डारण गर्ने ठाउकै अभाव भएपछि भाडाको नयाँ गोदाम खोजिएको हो ।’

प्रदेशको हकमा प्रत्येक जिल्लालाई मलको कोटा निर्धारण गर्ने मधेश प्रदेश कृषि मन्त्रालयले लामो समयदेखि वीरगन्ज नाकाबाट भित्रिएको मलको कोटा निर्धारण गरेको छैन । हाल गहुँ बालीका लागि किसानले युरिया र डिएपी मल पनि छरिसकेकाले हाल दुबै मलको माग पनि त्यति धेरै छैन ।

हाल कम्पनीको आफ्नै कार्यालय परिसरमा रहेका चार, भुटनदेवीमा रहेका पाँच, भाडामा लिइएका सिजी कम्पनीका दुई, नेशनल ट्रेडिङका दुई र टियारा मोटर्सका पाँच गरी २० वटा गोदाम मलले भरिएको छ । यी गोदाममा हाल ३५ हजार टन युरिया, ८ हजार टन डिएपी र ८ हजार टन पोटास गरी करिब ४९ हजार टन मल मौज्दात छ।

पछिल्लो समय कम्पनीले भारतसँग जिटुजी प्रक्रियाबाट ८ हजार ५ सय टन युरिया, सन इन्टरनेशन कम्पनी आपूर्तीकर्ता रहेको दुई वटा कन्साइन्मेन्टबाट २ हजार ५ सय टन युरिया, भारतको आइपिएल कम्पनी आपूर्तीकर्ता रहेको दुई वटा कन्साइन्मेन्टबाट १९ हजार टन डिएपी र अर्को कन्साइन्मेन्टबाट ६ हजार टन पोटास मल वीरगन्ज नाका हुँदै भित्र्याएको छ । पुरानो र नयाँ समेत गरी ठूलो परिमाणमा मल हाल वीरगन्जमा मौज्दात हुन गएको छ ।

प्रदेशको कृषि मन्त्रालयले नियमित रुपमा कोटा निर्धारण नगरेको र मलको माग पनि नभएको समय परेकाले हाल वीरगन्जमा मलको मौज्दात बढी हुन गएको पाण्डे बताउँछन् ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully