इलाका प्रहरी कार्यालय, नरहाका इन्चार्ज प्रहरी नायब निरीक्षक राजकिशोर साहसहितका प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरीले उनीहरूमाथि कुटपिट गरेका हुन् ।
What you should know
सिरहा — सिरहामा ट्राफिक नियम उल्लंघनको आरोपमा प्रहरीले तीनजनालाई निर्घात कुटपिट गरेको छ । सिरहा-चोहर्वा सडकअन्तर्गत नरहा चोकमा तीन जनालाई लखेटी-लखेटी प्रहरीले कुटपिट गरेको हो ।
इलाका प्रहरी कार्यालय, नरहाका इन्चार्ज प्रहरी नायब निरीक्षक राजकिशोर साहसहितका प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरीले उनीहरूमाथि कुटपिट गरेका हुन् । कुटिनेमा गोलबजार नगरपालिका-८ चोहर्वाका २४ वर्षीय बैजु मुखिया र अर्का दुई व्यक्ति छन् । कुटिनेमध्येका बैजुका अनुसार, नरहा चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले गरिरहेको संयुक्त जाँचका क्रममा लाइसेन्स भए पनि ब्लु बुक नहुँदा प्रहरीले उनको मोटरसाइकलको साँचो खोसेको थियो । त्यसपछि मोबाइलमा ब्लु बुकको फोटो मोबाइलमा देखाएपछि प्रहरीले उनलाई जान दिएको थियो ।
तर, त्यहाँबाट थोरै अगाडि बढेपछि सई साहले आफूलाई रोकेर चार-पाँच थप्पड हानेको बैजुको भनाइ छ । 'मोबाइलमा ब्लु बुक देखाएँ, अनि जरुरी काममा जाँदैछु भनेर आग्रह गर्दा म्यादी प्रहरीले जान भन्यो,' उनले भने, 'तर, दुई वटा तारा भएको र बर्दीमा आरके साह लेखिएको सरले केही बुझ्दै नबुझी मलाई रोकेर थप्पडले हिर्काउनुभयो ।'
बैजुलाई सई साहले कुटपिट गरेको भए पनि अर्का दुई जनामध्ये एक जनालाई ३-४ जना प्रहरी मिलेर लठ्ठी र बुटले निर्मम ढंगले कुटपिट गरिरहेको सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा देख्न सकिन्छ । बैजुलाई सई साहले कुटिरहेकै समयमा अर्को मोटरसाइकलमा तीन जना सवार भएर आइपुगेका थिए ।
प्रहरीलाई देख्नेबित्तिकै सडक छेउमै मोटरसाइकल छाडेर खेततिर भागेका उनीहरूमध्ये एकजना उम्किन सफल भए भने अन्दाजी २१ वर्षीय चालक र बीचमा बसेका ३० वर्षीय अर्का व्यक्तिलाई प्रहरीले लखेट्दै निर्मम कुटपिट गरेका हुन् । जसमा बढी चोटपटक ३० वर्षीय व्यक्तिलाई लागेको बैजुले बताए ।
बैजुका अनुसार, विवादपछि दुबै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको थियो । केही समयपछि सई साहले आफ्नो मोबाइलमा आफूहरूसँग 'प्रहरीको गल्ती नभएको, आफ्नै गल्ती भएको' भनी भिडियोमा बोल्न लगाई बल्ल मोटरसाइकल दिएको बैजुले बताए ।
उनीहरू दुई जनाको विवरण खुल्न नसके पनि सुखीपुरतिरको भएको अनुमान रहेको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालले बताए । निर्वाचन प्रहरी, प्रहरी, सशस्त्र प्रहरीले कुटपिट गरेको देखिए पनि सई साह भने यसमा संलग्न नरहेको दाबी उनले गरे । 'हामीकहाँ यो विषय आएको छ, थप बुझ्दैछौं,' डीएसपी पालले भने, 'सई आफै संलग्न छैनन् भन्ने कुरा अहिलेसम्म छ, हामीले यसबारे बुझिरहेका छौं ।'
