बैंक खाता खोल्नका लागि जिल्ला निर्वाचन कार्यालयबाट सिफारिस भने ६३ जनाले लगेका छन् ।
What you should know
बारा — प्रतिनिधिसभा निर्वाचनको मिति ६ बाँकी रहँदा अधिकांश उम्मेदवारहरूले खाता खोल्दै नखोली चुनावी प्रचारमा लागेका छन् । चुनाव प्रचार खर्च कहाँबाट र कसरी खर्च गर्दैछन् ? भन्ने प्रश्न तेर्सिएको छ ।
आर्थिक पारदर्शिताका लागि आयोगले जारी गरेको निर्वाचन आचारसंहिताअन्तर्गत निर्वाचन प्रचारप्रसारका लागि आयव्यय पारदर्शी हुनुपर्ने भन्दै उम्मेदवारहरूले छुट्टै खाता खोल्न अनिवार्य आचरण लागू गरेको छ । तर यहाँका ४ वटा निर्वाचन क्षेत्रका मुख्य प्रतिस्पर्धी दलका उम्मेदवारहरूले नै खाता खोलेका छैनन् । आयोगले कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई वित्तीय कारोबारको लागि अनुगमन अधिकारी तोकेको छ ।
नियन्त्रक कार्यालयका प्रमुख राधेश्याम गिरीका अनुसार चार वटै निर्वाचन क्षेत्रका जम्मा १ सय १० जना उम्मेदवारमध्ये १७ जनाले मात्र खाता विवरण उपलब्ध गराएका छन् । आयोगले खाता खोल्न जिल्ला निर्वाचन कार्यालयबाट सिफारिस लिएर खाता खोलेपछि कोलेनिकामा विवरण उपलब्ध गराउनुपर्ने भनेको छ । ‘खाता नखोलेका उम्मेदवारलाई ताकेता गरिएको छ,’ कोलेनिका प्रमुख गिरीले भने, ‘जबरजस्ती गर्नु भएन । उहाँहरू आफैँ जबाफदेही र दायित्वबोध बुझ्नु पर्यो ।’
कोलेनिका प्रमुख गिरीका अनुसार क्षेत्र नम्बर १ का रास्वपाका गणेश धिमाल, क्षेत्र नम्बर २ जसपाका रामकिशोर यादव, नेकपाका रमेश यादव, क्षेत्र नम्बर ३ का एमालेका ज्वालाकुमारी साह, रास्वपाका अरबिन्द साह, क्षेत्र नम्बर ४ का कांग्रेसका श्यामबाबु गुप्ता, राष्ट्रिय परिवर्तन पार्टीका सर्वेन्द्र खनाल, जसपाका सन्जु साह लगायत १७ जनाले खाता विवरण दिएका छन् । औपचारिक प्रचारप्रसार फागुन ४ गतेदेखि सुरु भएको हो । तर पनि उम्मेदवारले खाता विवरण उपलब्ध नगराउँदा खर्चको स्रोत कहाँबाट कसरी भइरहेको छ भन्ने स्पष्ट नभएको उनले बताए ।
निर्वाचनमा बिना खर्च प्रचारप्रसार वा चुनावी गतिविधि गर्न सम्भव छैन । तर उम्मेदवार कहाँबाट कसरी कति खर्च गर्दै छन् भन्ने अहिलेसम्म विवरण कतै हेर्न पाइएको छैन । बैंक खाता नै नखोली उम्मेदवारहरू घरदैलो र मतदातासित भेटघाट गर्न व्यस्त छन् । ‘खर्च विवरण पारदर्शिताका लागि खाता खोल्ने तर्फ ध्यान नदिनु आचरण पालना नगर्नु हो,’ उनले भने । निर्वाचन कार्यालयका सूचना अधिकारी मुकेश सिंहका अनुसार १ सय १० उम्मेदवारमध्ये ६३ जनाले खाता खोल्न जिल्ला निर्वाचन कार्यालयबाट सिफारिस लिएर गएका छन् ।
यस बाहेक उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने भनेको छ । ‘विवरण नबुझाउँदा यी सबै कुरा थाहा पाउन सकिएको छैन,’ कोलेनिका प्रमुखले भने, ‘वित्तीय पारदर्शितामा उम्मेदवारको ध्यान छैन । मतदातासित भेट्दै र जित्ने रणनीति बनाउँदैमा उहाँहरूलाई फुर्सद छैन ।’
२५ हजारभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्था मार्फत गर्नुपर्ने र व्यक्ति वा संस्थाबाट स्वैच्छिक सहयोगको रूपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भरपाई दिई उम्मेदवारको खातामा जानुपर्ने आयोगले आचारसंहिता बनाएको छ ।
