जंगली तथा गुण्डाराजलाई समाप्त गरिने : राउत

१२ बुँदे प्रतिबद्धता पत्रमा शान्ति तथा सुव्यवस्था, जनता–राज, जनताका समस्या समाधान, अधूरा योजना पूरा गर्ने, रोजगारी, औद्योगीकरण, कृषि, पर्यटन, युवा, महिला तथा खेलकुद, पर्यावरण र जंगलराजबाट स्पेस र एआईको युगमा फड्को मार्नेलगायतका उल्लेख छन् ।

फाल्गुन १४, २०८२

विद्यानन्द राम

Wild and gangsters will be eliminated: Raut

What you should know

राजविराज — सप्तरी क्षेत्र नं २ का उम्मेदवार तथा जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सीके) राउतले प्रतिबद्धता-पत्र सार्वजनिक गर्दै विगतका दशकमा यहाँ देखिएको जंगली तथा गुण्डाराजलाई समाप्त पार्दै सबै समुदायका जनताले शान्तिपूर्वक ढंगले बस्न पाउने वातावरण निर्माण गरिने उल्लेख गरेका छन् ।

शिक्षा, स्वास्थ्य र स्पेश तथा एआईको हब बनाइने पनि उनको घोषणा-पत्रमा उल्लेख छ । १२ बुँदे प्रतिबद्धता पत्रमा उनले शान्ति तथा सुव्यवस्था, जनता–राज, जनताका समस्या समाधान, अधूरा योजना पूरा गर्ने, रोजगारी, औद्योगीकरण, कृषि, पर्यटन, युवा, महिला तथा खेलकुद, पर्यावरण र जंगलराजबाट स्पेस र एआईको युगमा फड्को मार्नेलगायतका प्रतिबद्धता उल्लेख गरेका हुन् ।  

राजविराजका बिटौरी जग्गासम्बन्धी समस्याको समाधान, हटियाको भवन र गिलेसनका डिजाइन सम्बन्धित पक्षको सल्लाहमा त्रुटि सच्चाउँदै सञ्चालनमा ल्याइने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

यहाँका बसपार्क र गजेन्द्रनारायण सिंह अस्पतालका नयाँ अस्पताल भवन सञ्चालन तथा रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अगाडि बढाइने उनले प्रतिबद्धता-पत्रमा उल्लेख गरेका छन् । 

राजविराज–१५ को अधुरो कोल्ड स्टोर निर्माण पूरा गराइने, मधेस कृषि विश्वविद्यालयको भवन निर्माण कार्य पूरा गरिने, अलपत्र र सप्तरीलाई नै कालो सूचीमा बस्न बाध्य बनाएको ‘कन्या छात्रावास’ जस्ता योजना पनि पूरा गराइने राउतको प्रतिबद्धता-पत्रमा छ ।

साक्षरता कार्यक्रम सञ्चालन गरी यस क्षेत्रलाई साक्षर बनाइने, शिक्षाको स्तर उकास्न पहल तथा मुख्यमन्त्री घरदैलो स्वास्थ्य सेवाअन्तर्गत आमजनताको पहुँच स्वास्थ्य सेवासम्म सुनिश्चित गरी सप्तरीलाई शिक्षा र स्वास्थ्यको हबको रूपमा विकास गरिने पत्रमा उल्लेख छ ।

आईटीपार्क, कल सेन्टर, कोडिङ आर्मी, एसेम्बली लाइनलगायतका परियोजनालाई कार्यान्वयन गरी रोजगारी बढाइने प्रतिबद्धता-पत्रमा छ । कुनौलीमा ड्राइपोर्ट निर्माण गरी कुनौली–राजविराज–रूपनी औद्योगिक करिडोर बनाएर अगाडि बढाइने, राजविराज औद्योगिक क्षेत्रमा लगानीकर्ता र उद्योगीलाई उद्योग खोल्न प्रोत्साहित गरिने प्रतिबद्धता-पत्रमा उल्लेख गरिएको छ ।

कृषि र विद्युतीकरणको योजना कार्यान्वयन, राजविराज १० मा मधेश स्पेस सेन्टरको प्रारम्भिक भौतिक संरचना निर्माण भइसकेको र त्यसलाई सञ्चालन गरेर मोनिटरिङ सिस्टमका रूपमा प्रयोग गरिने तथा स्कुल अफ एआई एण्ड रोबोटिक्स् योजना कार्यान्वयन गरी मधेसलाई स्पेस तथा एआईको हबका रूपमा परिचित गराइने डा.राउतको प्रतिबद्धता-पत्रमा उल्लेख छ ।

विद्यानन्द राम विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully