यस वर्ष धान सिजनमा ८५० क्युसेक पानी आउने आशा ।
What you should know
पर्सा — भारतले यस वर्ष गहुँ सिजनमा गण्डक नहरमा पानी नदिएपछि नारायणी सिंचाइ व्यवस्थापन कार्यालय, पर्साले नहर सरसफाइ कार्यलाई तीव्र बनाएको छ। कार्यालयका अनुसार पश्चिमतर्फ ५ किलोमिटर र पूर्वतर्फ साढे ४ किलोमिटर नहरको सरसफाइ सम्पन्न भइसकेको छ।
नारायणी सिंचाइ व्यवस्थापन कार्यालय वीरगन्जका प्रवक्ता इन्जिनियर सुरेश साहका अनुसार कतिपय स्थानमा १ मिटरभन्दा बढी माटो थुप्रिएकाले ती क्षेत्रमा केन्द्रित भएर सरसफाइ गरिएको हो। यसरी सरसफाइ गर्दा नहरमा पानीको प्रवाह सहज हुने र पूर्वी भेग रौतहटसम्म पानी नपुग्ने समस्या धेरै हदसम्म समाधान हुने विश्वास व्यक्त गरिएको छ।
यस वर्ष भारतीय पक्षले आफ्नो भू–भागमा पर्ने करिब ९३ किलोमिटर नहर संरचनामा सरसफाइ तथा मर्मत कार्य तीव्र रूपमा गरिरहेको छ। नहरको नियमित मर्मत तथा सरसफाइमा विशेष ध्यान दिइएकाले यसपालि धान बाली सिजनमा सम्झौताअनुसार ८ सय ५० क्युसेक पानी उपलब्ध हुने सम्भावना रहेको साहले दाबी गरे। भारतीय पक्षले चैत मसान्तसम्ममा मर्मत कार्य सम्पन्न गरिसक्ने जनाएको छ।
नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारतीय पक्षले प्रत्येक वर्ष धान बाली सिजनका लागि असार १५ र गहुँ बालीका लागि पुस १५ देखि नहरमा ८ सय ५० क्युसेक पानी उपलब्ध गराउनुपर्ने व्यवस्था छ। तर सम्झौताअनुसार नियमित रूपमा पानी नआउँदा तथा भारतीय भू–भागमा नहरको मर्मत अभावका कारण नहरको अन्तिम बिन्दु रौतहटको पूर्वी क्षेत्रसम्म पानी पुग्न सकेको थिएन।
गण्डक नहर प्रणालीअन्तर्गत कुल ३७ हजार ४ सय हेक्टर जमिन सिंचित क्षेत्र रहेको छ। यसमध्ये पर्सामा १६ हजार, बारामा ९ हजार तथा बाँकी क्षेत्र रौतहटमा पर्दछ। नवलपरासीको त्रिवेणी भैंसालोटनस्थित नेपाल–भारत सीमामा निर्मित व्यारेजबाट भारतीय पक्षले नहरमा पानी छोड्ने गर्दछ। भारतभित्र करिब ९३ किलोमिटर यात्रा गरेपछि नहर पर्साको जगर्नाथपुर गाउँपालिकाबाट नेपाल प्रवेश गर्छ। पर्सा, बारा र रौतहटका १५ ब्लकमा विभाजित यो नहरको नेपालतर्फको लम्बाइ ८१ किलोमिटर रहेको छ। नहर रौतहटस्थित बागमती नदीमा मिसिएपछि समाप्त हुन्छ।
