सहरको मुटुमा हरियाली फर्काउने अभियान

वीरगन्ज महानगरपालिकाको पहलमा उद्यान पुनर्जीवनको बाटोमा छ। यहाँको अतिक्रमण अहिले हटाइएको छ । सफाइ अभियान तीव्र गतिमा अघि बढिरहेको छ। माटो भर्ने, जमिन सम्याउने र हरियाली फर्काउने कामले उद्यानलाई फेरि जीवन्त बनाउन थालेको हो।

फाल्गुन १२, २०८२

शंकर आचार्य

A campaign to restore greenery to the heart of the city

What you should know

पर्सा — वीरगन्जको घण्टाघर छेउमा फैलिएको बीपी उद्यान वर्षौंदेखि अतिक्रमण, अस्थायी टहरा र फोहोरको थुप्रोमा हराएको थियो। करिब १० बिघा क्षेत्रफलमा फैलिएको यो सार्वजनिक स्थल अस्तव्यस्तताले ढाकिएको हुँदा नागरिकले उद्यानलाई पार्कका रूपमा अनुभव गर्नै सकेका थिएनन्।

तीन दशकअघि वीरगन्ज महानगरपालिकाको कार्यालयले तत्कालीन यातायात संस्थानसँग २० करोड रुपैयाँ खर्च गरेर उक्त जग्गा खरिद गरेको थियो । उद्देश्य थियो बीपी पार्क निर्माण । तर राजनीतिक अस्थिरता र नेतृत्वमा बसेकाहरूको इच्छाशक्तिको कमीले त्यहाँ पार्क निर्माण हुन सकिरहेको थिएन ।

तर अहिले दृश्य फेरिएको छ। वीरगन्ज महानगरपालिकाको पहलमा उद्यान पुनर्जीवनको बाटोमा छ। यहाँको अतिक्रमण अहिले हटाइएको छ । सफाइ अभियान तीव्र गतिमा अघि बढिरहेको छ। माटो भर्ने, जमिन सम्याउने र हरियाली फर्काउने कामले उद्यानलाई फेरि जीवन्त बनाउन थालेको हो।

स्थानीयवासीहरू पनि उत्साहित छन्। ‘हामी वर्षौंसम्म उद्यानको नाम मात्र सुन्थ्यौं, तर अब साँच्चिकै पार्क देख्न पाइने भयो,’ स्थानीय प्रिन्सी सर्राफ भन्छिन्, ‘बालबालिकाले खेलकुद र अन्यले बिहान हिँडाइ, साँझको विश्राम र परिवारसँगको रमाइलो समय बिताउने अवसर पाउने छन् ।’

महानगर प्रमुख राजेशमान सिंह उद्यानको उत्तरतर्फ प्रस्तावित रेल्वे संग्रहालयले वीरगन्जको ऐतिहासिक महत्त्वलाई पुनः स्मरण गराउने बताउँछन् । ‘यसले सहरलाई केवल हरियाली मात्र होइन, सांस्कृतिक र ऐतिहासिक आकर्षण पनि दिनेछ,’ उनले भने, ‘यो केवल सफाइ अभियान होइन, यो सहरको सौन्दर्य र स्वाभिमान पुनर्स्थापनाको यात्रा  पनि हो।’

प्रमुख सिंह बीपी उद्यानलाई ‘ग्रिन पार्क’का रूपमा विकास गर्ने लक्ष्य रहेको र यसले भविष्यका पुस्तालाई स्वच्छ हावा र खुला सार्वजनिक स्थल उपलब्ध गराउने बताउँछन् । ‘बीपी उद्यानको पुनर्जीवन वीरगन्जको रूपान्तरणको प्रतीक बनेको छ,’ उनी भन्छन्, ‘यो केवल पार्कको कथा होइन, सहरले आफ्नो पहिचान पुनः प्राप्त गर्ने, नागरिकलाई जीवन्त सार्वजनिक स्थल दिने र भविष्यप्रतिको प्रतिबद्धता देखाउने गाथा हो।’

प्रस्तावित बीपी उद्यान परिसरमा रेल्वे स्टेसन रहेको थियो । जहाँ भारतबाट यात्रुवाहक र मालवाहक रेल आउँथे । यहाँबाट अमलेखगन्जसम्म रेल जान्थ्यो । तर नेपालको यातायात इतिहासमा पहिलो रेलमार्गका रूपमा चिनिने वीरगन्ज–अमलेखगन्ज रेल आज स्मृतिमा मात्र बाँकी छ। सन् १९२७ मा सञ्चालनमा आएको यो रेलमार्ग करिब ४७ किलोमिटर लामो थियो, जसले भारतको रक्सौल हुँदै वीरगन्जलाई अमलेखगन्जसँग जोड्थ्यो।

रेलमार्ग निर्माणको मुख्य उद्देश्य भारतबाट सामान भित्र्याएर अमलेखगन्जसम्म पुर्‍याउने र त्यहाँबाट खच्चर तथा पैदलमार्ग हुँदै काठमाडौं लगायत पहाडी क्षेत्रमा ढुवानी गर्ने थियो। यसले नेपालमा आधुनिक यातायातको सुरुवात गर्‍यो र वीरगन्जलाई व्यापारिक केन्द्रका रूपमा स्थापित गरेको थियो। तर समयसँगै सडक यातायातको विकास भएपछि रेलमार्गको महत्त्व घट्दै गयो। अन्ततः सन् १९६५ मा यो रेलमार्ग पूर्ण रूपमा बन्द भयो। आज यसको अवशेष मात्र बाँकी छ, तर यसको ऐतिहासिक महत्त्व अझै जीवित छ।

वीरगन्ज महानगरले हाल बीपी उद्यान परिसरमा रेल्वे संग्रहालय स्थापना गर्ने तयारी गरेर नेपालकै पहिलो रेल सेवाको ऐतिहासिक विरासतलाई भावी पुस्तासम्म जोगाउने लक्ष्य पनि राखेको छ। 

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully