वीरगन्ज घटनापछि सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति

बैठकले आगामी दिनमा धार्मिक, सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक तथा सामाजिक संघसंस्था, सञ्चारमाध्यम र जनप्रतिनिधिहरूलाई संयमित भूमिका निर्वाह गर्न आह्वान गरेको छ ।

फाल्गुन ११, २०८२

शंकर आचार्य

All-party agreement to maintain social harmony after Birgunj incident

पर्सा — वीरगन्ज महानगरपालिका–११ श्रीपुरमा आइतबार राति र सोमबार बिहान घटेको घटनापछि उत्पन्न हुन सक्ने सामाजिक तथा साम्प्रदायिक तनावलाई मध्यनजर गर्दै सर्वदलीय तथा सर्वपक्षीय बैठकले शान्ति, सद्भाव र संयमता अपनाउने निर्णय गरेको छ । 

जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा सम्पन्न सर्वदलीय सर्वपक्षीय बैठकले घटनाबाट प्रभावित पक्षलाई आवश्यक उपचार तथा राहत उपलब्ध गराउन प्रशासनसँग समन्वय गर्ने, पीडित परिवारलाई कानुनी प्रक्रियामार्फत न्याय दिलाउन सहयोग गर्ने तथा घटनालाई सामाजिक सञ्जालमा उत्तेजक ढंगले प्रचार–प्रसार नगर्न सबैलाई आग्रह गर्ने निर्णय गरेको छ ।

त्यस्तै, व्यक्तिगत घटना वा दुर्घटनालाई लिएर सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाउने, हेट स्पिच प्रवर्द्धन गर्ने तथा साइबर कानुन विपरीत गतिविधि गर्ने व्यक्तिमाथि कानुनी कारबाही अघि बढाइने निर्णय पनि गरिएको छ ।

बैठकले आगामी दिनमा धार्मिक, सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक तथा सामाजिक संघसंस्था, सञ्चारमाध्यम र जनप्रतिनिधिहरूलाई संयमित भूमिका निर्वाह गर्न आह्वान गरेको छ ।

बैठकमा गरिएको सहमतिपत्रमा विभिन्न राजनीतिक दल, सामाजिक अभियन्ता, नागरिक समाजका प्रतिनिधि तथा स्थानीय अगुवाहरूको हस्ताक्षर रहेको छ ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully