चन्द्रपुर–१ वडाअध्यक्षसहित सेवाग्राहीहरू आइतबार इलाका प्रशासन कार्यालयको मूल ढोकामै धर्नामा बसेका हुन्।
What you should know
रौतहट — झण्डै एक महिना धाउँदा पनि नागरिकता पाउन नसकेको भन्दै आइतबार चन्द्रपुर नगरपालिका–१ का सेवाग्राही इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरमा धर्ना बसेका छन् ।
चन्द्रपुर–१ वडाअध्यक्षसहित सेवाग्राहीहरु आइतबार ईलाका प्रशासन कार्यालयको मूल ढोकामै धर्नामा बसेका हुन्।
चन्द्रपुर–१ की निमालाम्हु भुटियाले एक महिना धाउँदा पनि ईलाका प्रशासन प्रमुख माधवप्रसाद शर्माले बिभिन्न बाहना बनाएर दुःख दिएको भन्दै धर्नामा बसेको बताइन् । ‘निवेदन दिएको पनि एक महिना हुन लाग्यो । नागरिकताको लागि धाउँदै सकस हुन लाग्यो,’ उनले भनिन्,‘यो त हदै भयो । सेवाग्राहीलाई यसरी दुःख दिन कतिको उचित होला ।’
जिल्ला प्रशासन कार्यालयले गत माघ २० मा निमालाम्हुलाई नागरिकता नदिइनुको कारण सोध्दै सोही कार्यालयबाट नागरिकता दिने व्यवस्था मिलाउन पत्राचार गरेको थियो । उक्त पत्रको ईलाका प्रशासन प्रमुख शर्माले अवज्ञा गर्दै आफुले कुनै हालतमा नागरिता दिन नमिल्ने बताएको निमालाम्हुले बताइन् । उनले जिल्ला प्रशासन कार्यालय गौरबाटै नागरिकता बनाउनु भनेर पन्छिन खोजेको निमालाम्हुले सुनाइन् ।
इलाका प्रशासन प्रमुख शर्माले नागरिकता दिन आनाकानी गरेपछि वडाअध्यक्ष बलराम राउत र निवेदक निमालाम्हुसहितका स्थानीय धर्नामा बसेका हुन् । दुःख दिने नियतले इलाका प्रशासन प्रमुख शर्माले नागरिकता दिन नखोजेको वडाअध्यक्ष राउतले बताए । वडा कार्यालयबाट सिफारिस भई सबै प्रक्रिया पूरा गरेर पनि नागरिकता नदिएको उनीहरुको आरोप छ । झण्डै आधा घण्टा धर्नामा बसे पछि उनीहरु प्रमुखको कार्यकक्ष पुगेर सोमबार १२ बजेसम्मको अल्टिमेटम दिएका छन् ।
निमालाम्हुका बुवा पेम्बा छिरिङ भुटिया २०५९ भदौ १० बाट बेपत्ता भएका थिए । निमालाम्हुकी आमा अनुमाया तामाङले जिल्ला अदालत गौरमा बेपत्ता वा मृत्यु न्यायिक घोषणापत्रको लागि निवेदन दिएकी थिइन् । अदालतले माघ ६ मा निमालाम्हुका बुवा पेम्वाको मृत्यु वा बेपत्ता भएको भनि न्यायिक घोषणापत्र समेत दिएको छ ।
वडा कार्यालयबाट समेत निमालाम्हुको २०५९ जेठ ५ गतेको जन्मदर्ता छ । जिल्ला अदालतले पेम्बा र अनुमाया श्रीमान्/श्रीमती भएको नाता प्रमाणित समेत गरेको छ । ईलाका प्रशासनले आमाको नामबाट बंशजको आधारमा नागरिकता दिनुपर्नेमा तारेख धाउनेसम्म बनाएको निमालाम्हुले बताइन्।
इलाका प्रशासन प्रमुख शर्माले प्रमुख जिल्ला अधिकारीसित सल्लाह गरेर मात्रै उनलाई नागरिकता दिनेबारे निर्णय लिइने बताए ।
यसअघि चन्द्रपुर नगरपालिका–७ नयाँबस्तीका ४५ वर्षीय रामविश्वास साह र छोरा रुपेशले नौ दिन धाउँदा पनि ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरबाट नागरिकता पाउन नसकेका भन्दै तीब्र आलोचना भएको थियो । यो समाचार सार्वजनिक भएपछि ईलाका प्रशासन प्रमुख शर्माले साहलाई नागरिकता दिएका थिए ।
