स्थानीय प्रशासनले लगाएको कर्फ्युबीच आइतबार बिहानबाट बिभिन्न राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधि, नागरिक अगुवासहितको बैठक बसिरहेको हो ।
रौतहट — सदरमुकाम गौरलगायतको क्षेत्रको अवस्था सामान्य बनाउन जिल्ला प्रशासन कार्यालयमा अहिले सर्वपक्षीय बैठक बसिरहेको छ ।
प्रशासनले लगाएको कर्फ्युबीच आइतबार बिहानबाट बिभिन्न राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधि, नागरिक अगुवासहितको बैठक बसिरहेको हो ।
प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बैठकबाट ठोस निष्कर्ष निस्कने बताए । ‘यस्ता घटना दोहोरिन नदिन सर्वर्पक्षीय छलफलबाट निकास निकाल्ने प्रयास भइरहेको छ,’ उनले भने,‘शान्ति सुरक्षा अमनचयन सबैका लागि महत्वपूर्ण हो । हामी यसैमा लागिरहेका छौं ।’
बैठकमा पार्टीका प्रनितिधिहरु, नगरप्रमुखहरु र नागरिक समाजका अगुवा सहभागी छन् । आगामी दिनमा कसरी सद्भाव कायम राख्न सकिन्छ भन्नेमा केन्द्रीत भएको बैठकमा सहभागी एक प्रतिनिधिले बताए ।
गौर नगरपालिका–६ स्थित सबगढा गाउँमा शुक्रबार जन्तीमा चर्को साउण्डमा डिजे बजाएको निहुँमा दुई पक्षबीच झडप भएको थियो । त्यसपछि शनिबार दिनभर गौरलगायतको क्षेत्र तनाबग्रस्त बने पछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको हो । झडपको क्रममा आधा दर्जन सवारीसाधनमा आगजनी र तोडफोड भएका थिए ।
जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आइतबार बिहानदेखि प्रशासनले लगाएको कर्फ्युका कारण गौरलगायत आसपासको क्षेत्रमा जनजीवन प्रभावित भएको छ । कर्फ्युका कारण गौर बजार सुनसान छ । मानिसहरु घरभित्र बसिरहेका छन् । बजार र आसपास क्षेत्रमा ठूलो सख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । सेना, प्रहरीले गस्ती गरिरहेका छन् ।
