गौरमा सोमबार सद्भाव र्‍याली निकाल्ने सहमति

प्रजिअ भुसालका अनुसार समाजिक सद्भाव कायम राख्न नागरिक समाजका अगुवाहरुको नेतृत्वमा सोमबार बिहान सद्भाव र्‍याली निकाल्ने सहमति भएको छ ।

फाल्गुन १०, २०८२

शिव पुरी

Agreement to hold a harmony rally in Gaur on Monday

रौतहट — जिल्ला प्रशासन कार्यालय गौरमा आइतबार बिहानदेखि जारी सर्वपक्षीय बैठकले सबैलाई सयमित रहन आग्रह गर्दै सोमबार बिहान सद्भाव र्‍याली निकाल्ने निर्णय गरेको छ ।

बैठकले झडप साम्य पार्न बिभिन्न पाँच बुँदे निर्णय गरेको छ । झडपका कारण अवस्था तनाबपूर्ण बनेपछि प्रशासनले लगाएको कर्फ्यु भने यथावत छ । 

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले शान्तिपूर्ण वातावरण कायम राख्न सरोकारवाला सबै पक्षले सार्वजनिक रुपमा अपिल गर्ने निर्णय भएको बताए । बैठकमा झडपका घटनालाई उत्तेजित बनाउने र पुराना भिडियोहरु समाजिक सञ्जालमा पोष्ट गर्नेलाई आवश्यक कारबाही गर्न सुरक्षा निकायलाई सहयोग गर्ने सहमति भएको छ । 

प्रजिअ भुसालका अनुसार समाजिक सद्भाव कायम राख्न नागरिक समाजका अगुवाहरुको अगुवाईमा सोमबार बिहान सद्भाव र्‍याली निकाल्ने सहमति भएको छ ।  

सर्वपक्षीय बैठकमा पार्टीका प्रनितिधि, नगरप्रमुखहरु र नागरिक समाजका अगुवाहरु बसेका थिए । जिल्ला प्रशासनले आइतबार दिउँसोबाट कर्फ्यु जारी गरे पछि आइतबार कुनै किसिमको झडप भएको छैन । प्रशासन कार्यालयका अनुसार कर्फ्यु मंगलबार बिहानसम्म कायम रहने छ ।  

गौर नगरपालिका–६ स्थित सबगढा गाउँमा शुक्रबार बिहेको जन्तीमा चर्को साउण्डमा डिजे बजाएको निहुँमा दुई पक्षबीच झडप भएको थियो । त्यसपछि शनिबार दिनभर गौरलगायतको क्षेत्र तनाबग्रस्त बने पछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको हो ।

झडपको क्रममा आधा दर्जन सवारीसाधनमा आगजनी र तोडफोड भएको थियो । कफर्युका कारण गौर बजार सुनसान छ । बजार र आसपास क्षेत्रमा ठूलो सख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । 

शिव पुरी उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully