गौरमा झडप : सेना परिचालनपछि साम्य बन्दै बजार क्षेत्र

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले झडपको घटना रोक्ने प्रयास भइरहेको बताए ।

फाल्गुन ९, २०८२

शिव पुरी

Clashes in Gaur: Market area regains calm after army deployment

रौतहट — रौतहट सदरमुकाम गौरमा भएको झडपको घटना रोक्न स्थानीय प्रशासनले प्रयास गरिरहेको छ । अहिले गौर लगायतको क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । झडप क्षेत्रमा थप सेना पनि परिचालन गरिएको छ । 

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले झडपको घटना रोक्ने प्रयास भइरहेको बताए । ‘बजार क्षेत्रमा झडपको घटना रोकिँदै गएको छ,’ उनले भने, ‘भित्री क्षेत्रमा केही मानिसहरु ढुगांमुडा गर्दै छन् । सुरक्षाकर्मी नियन्त्रण गर्न खटिएको छ ।’

शुक्रबारदेखि भएको झडप रोक्न स्थानीय प्रशासनले दिउँसो १ बजेबाट कर्फ्यु लगाए पनि भित्री भागमा ढुंगामुडा प्रहारका घटना भइरहेका छन् । बिहानबाट सदरमुकाम लगायतका क्षेत्रमा सेना परिचालनपछि गौरको मुख्य सडक शान्त देखिए पनि भित्री भागको अवस्था अझै तनावग्रस्त छ ।

गौर नगरपालिका–४ मचकुटिया टोलमा केहीबेरअघि एउटा स्कुटरमा आगजनी भएको छ । आधा दर्जन सवारीमा क्षति पुगेको छ ।

गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा शुक्रबार बिहेको बाजाको निहुँमा दुई पक्षबीच भएको झडपले उग्र रुप लिएपछि तनाव सुरु भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यासका सेल प्रहार गरेको थियो ।

जिल्ला प्रशासनले पूर्वतर्फ मुडबलवा गेट, पश्चिमतर्फ लालबकैया बाँध, उत्तरतर्फ बम नहर, दक्षिणतर्फ गौर भन्सार कार्यालयमा कफर्यु जारी गरेको छ । 

शिव पुरी उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully