घरबाटो सिफारिसकै लागि दुई महिनादेखि अड्डा-अड्डा भौतारिरहेका विनोद

जिल्ला प्रशासन कार्यालयमा उनी नागरिकता बनाउन वा अरू केही प्रमाणपत्र बनाउन आएका होइनन्, आफ्नो वडा कार्यालयबाट पाउनुपर्ने घरबाटो सिफारिस नपाएपछि उनी यहाँ गुहार्न आइपुगेका हुन् ।

फाल्गुन ४, २०८२

विनय आजाद

Vinod has been roaming from place to place for two months, seeking recommendations for a way home.

What you should know

सिरहा — जिल्ला प्रशासन कार्यालय, सिरहाको परिसरभित्र पश्चिमपट्टि एउटा क्यान्टिन छ । त्यस क्यान्टिनमा सोमबार कोही खाजा खाँदै थिए, कोही चिया गफ गर्दै थिए । तर, एक जना भने एकान्तमा हातमा कागजात बोकेर निराश मुद्रामा त्यसै बसिरहेका भेटिए ।

उनी थिए- कल्याणपुर नगरपालिका-८ मझौलियाका ५२ वर्षीय विनोद मण्डल । जिल्ला प्रशासन कार्यालयमा उनी नागरिकता बनाउन वा अरू केही प्रमाणपत्र बनाउन आएका होइनन्, आफ्नो वडा कार्यालयबाट पाउनुपर्ने घरबाटो सिफारिस नपाएपछि उनी यहाँ गुहार्न आइपुगेका हुन् ।

तर, जिल्ला प्रशासन कार्यालयमै पनि दुई सातादेखि भौतारिँदा पनि उनले समाधान पाएका छैनन् । विनोदकी पत्नी कुसुमदेवी मण्डलको नाममा रहेको साबिक मझौलिया-४ को कित्ता नम्बर ६६६ को ५ कठ्ठा १५ धुर जग्गाको घरबाटो सिफारिसका लागि मण्डल दम्पती पुष ९ मा वडा कार्यालयमा निवेदन दिएका थिए ।

वडा कार्यालयका कर्मचारीले सोही दिन निवेदन र जग्गाको निरीक्षणका आधारमा घरबाटो सिफारिस तयार पारिदिए । त्यस पत्रमा उक्त जग्गामा घर तथा बाटो दुबै नभएको र जग्गा कृषियोग्य रहेको उल्लेख छ । मण्डल दम्पती उक्त पत्र लिएर वडाध्यक्ष रामकिशोर यादवकहाँ गए । तर, उनले त्यसमा हस्ताक्षर गरिदिएनन् ।

उनीहरू फेरि भोलिपल्ट वडाध्यक्ष यादवकहाँ गए । तर, जति अनुनय गर्दा पनि उनी टसमस भएनन् । फेरि त्यसको चार दिनपछि केही स्थानीय भद्रभलाद्मीसहित उनी वडाध्यक्ष यादवकहाँ पुगे । तर, वडाध्यक्ष यादवले आफू कुनै पनि हालतमा सही नगरिदिने जवाफ दिएको विनोदले सुनाए ।

कसैगरी वडाध्यक्षले सिफारिस पत्रमा हस्ताक्षर नगरिदिएपछि विनोदले पुष १९ मा जिल्ला प्रशासन कार्यालय, सिरहामा उजुरी दिए । जिल्ला प्रशासन कार्यालयले सिफारिस नदिनुको कारण लेखी पठाउनु भनेर सोही दिन वडा कार्यालयलाई पत्र काट्यो । त्यसपछि अब केही हुन्छ कि भनेर फेरि वडा कार्यालय पुगेका विनोदलाई वडाध्यक्ष यादवले जग्गाको मुचुल्का लिएर आए मात्रै केही भन्ने जवाफ दिए ।

पुष २३ मा मण्डलले वडासदस्य मोहम्मद अल्लुदीनसहित अन्य पाँच स्थानीयसँग जग्गाको निरीक्षण गराएर हस्ताक्षरसहितको मुचुल्का तयार गराई वडाध्यक्ष यादवकहाँ गए । तर, वडाध्यक्ष यादवले फेरि गालीगलौज गर्दै फर्काइदिएको विनोदले बताए । त्यसयता उनी दैनिकजसो जिल्ला प्रशासन कार्यालयमा चक्कर लगाइरहेका छन् ।

'मैले पटक-पटक अनुनय गरेँ, तर उहाँले तिम्रो काम गर्दिनँ, जे मन लाग्छ गर, जहाँ जानुछ जाउ भनेर सिफारिस पत्रमा सही गरिदिनुभएन,' विनोदले सुनाए, 'दुई महिनादेखि यही झमेलामा फसेको छु, म त हैरान भइसकेँ, हामी गरिब मान्छेलाई सुन्ने कोही हुँदो रहेनछ ।'

गाउँमा खेती किसानी गर्ने विनोदलाई नेपाली भाषा बोल्न आउँदैन । त्यसकारण पनि जिल्ला प्रशासन कार्यालयमा संवाद गर्न र काम गराउन कठिनाइ भएको विनोद बताउँछन् । 'म गाउँको सामान्य मान्छे, अनि नेपाली बोल्न पनि आउँदैन,' उनले भने, 'हामीजस्तो मान्छेसँग कर्मचारीले राम्ररी कुरा पनि गर्दैनन्, झपार्छन्, म अन्योलमा परेको छु ।'

कागजात नपुगेर वा गर्न नमिल्ने भएर उनले सिफारिस नपाएका भने होइनन् । नेपाली कांग्रेसबाट उठेका यादवले गत स्थानीय तहको चुनावमा सहयोग नगरेको भनेर आफूलाई सिफारिस नदिएको विनोदको गुनासो छ । 'स्थानीय चुनावमा मैले सहयोग गरिनँ भनेर उहाँले मसँग यस्तो गर्नुभएको हो,' उनी भन्छन्, 'मसँग मात्र होइन, उहाँलाई भोट नदिने अरूसँग पनि यस्तै व्यवहार गर्नुहुन्छ ।'

आर्थिक रूपले विपन्न उनले तीन वर्षअघि छरछिमेकमा ऋणपान गरेर छोरीको विवाह गरेका थिए । विनोदले उक्त खेत बेचेर ऋण चुक्ता गर्न चाहन्छन् । खेत बेच्नकै लागि उनलाई मालपोतमा सिफारिस आवश्यक परेको हो । तर, सिफारिस नपाउँदा खेत बेच्न नसकेको र साहु महाजनको ताकेताले तनावमा बाँच्नुपरेको उनी सुनाउँछन् ।

सिरहाका प्रमुख जिल्ला अधिकारी चेतराज बरालले वडाध्यक्ष यादव जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन अटेरी गरेका कारण विनोदको काम हुन नसकेको बताए । 'हामीले वडालाई पत्राचार गरेका छौं, तर वडाध्यक्षले अटेरी गरे,' उनले भने, 'आज वडाध्यक्षलाई अन्तिमपल्ट चेतावनी दिएको छु ।'

यता वडाध्यक्ष यादवले भने मण्डल आफूकहाँ आउँदै नआएको दाबी गरेका छन् । 'उनी मकहाँ आएका छैनन्,' उनले भने, 'कहाँ-कहाँ पुग्छन्, म पनि हेर्छु ।'

विनय आजाद आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully