राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको मूल्यांकन प्रतिवेदनअनुसार तीन वटै स्थानीयले ४० अंक पनि प्राप्त गर्न सकेको छैन ।
What you should know
राजविराज — सप्तरीका स्थानीय तहमध्ये अग्नीसाइर कृष्णासवरन गाउँपालिका तथा शम्भुनाथ र राजविराज नगरपालिकाको कार्यसम्पादन चिन्ताजनक देखिएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको मूल्यांकन प्रतिवेदनअनुसार तीन वटै स्थानीयले ४० अंक पनि प्राप्त गर्न सकेको छैन ।
९ नगरपालिका र ९ गाउँपालिकामध्ये अग्नीसाइर कृष्णसवरणले जिल्लामा सबैभन्दा कम ३४.८१ अंक प्राप्त गरेको छ । शम्भुनाथले ३७.५६ अंक प्राप्त गर्दा राजविराजले पनि ४० अंक कटाउन सकेको छैन् । राजविराजले ३९.३९ अंक प्राप्त गरेको हो ।
आयोगले १७ वटा सूचकका आधारमा कार्यसम्पादन मूल्यांकन गरेर सो प्रतिवेदन सार्वजनिक गरेको हो । जसमा स्थानीय तहको राजस्व र व्ययको अनुमान सभामा पेस तथा पारित गरे/नगरेको, घर जग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर वापत उठेकोमध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम प्रदेश सञ्चित कोषमा जम्मा गरे/नगरेकोलगायत सूचक हो ।
आय व्यय प्रक्षेपण गरिएको तथ्यांकसहितको विवरण अर्थ मन्त्रालयमा पेस गरे/नगरेको, बजेट कार्यान्वयनको वार्षिक समिक्षा विवरण सार्वजनिक गरे/नगरेको, अधिकार क्षेत्रका राजस्व परिचालन, विनियोजित रकमअनुसार खर्च, बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीको प्रयोगलगायत सूचक तयार पारी मूल्यांकन गरिएको थियो ।
मूल्यांकनको नतिजाअनुसार यहाँका तीन वटा स्थानीय तहले मात्रै ६० देखि ६६ अंक पाएको छ भने अन्यको पनि कार्यसम्पादन अपेक्षाअनुसार सन्तोषजनक छैन् । सुरुंगा नगरपालिकाले ६५.३८ पाएको छ । तिलाठी कोइलाडी गाउँपालिकाले ६३.२३ अंक प्राप्त गर्दा बोदे बर्साइन नगरपालिकाले पनि ६२.९४ अंक ल्याएको हो ।
राजगढ गाउँपालिकाले ५६.८२, सप्तकोशी नगरपालिकाले ५२.४७, खडक नगरपालिकाले ५०.५५ अंक पाएको छ । महादेवा गाउँपालिकाले ४७.८८, विष्णुपुर गाउँपालिकाले ४७.८६, छिन्नमस्ता गाउँपालिकाले ४७.३७, हनुमाननगर कंकालिनीले ४६.६४, बलान बिहुल गाउँपालिकाले ४६.३१, कंचनरुपले ४४.८३, रुपनी गाउँपालिकाले ४३.२०, डाक्नेश्वरले ४२.१९ र तिरहुत गाउँपालिकाले ४२.९४ अंक पाएको छ ।
