गाैरको करदाता सेवा कार्यालय सिमरा सार्दा स्थानीयको अवरोध

स्थानीय व्यापारी, नागरिक समाज, राजनीति दलका कार्यकर्ताले कार्यालयको समान लोड गरेको गाडी घेरेर राखेका छन् ।

फाल्गुन १, २०८२

शिव पुरी

रौतहट — रौतहट सदरमुकाम गौरस्थित करदाता सेवा कार्यालयको समान शुक्रबार सिमरा कर कार्यालय लैजान स्थानीयले रोकेका छन्।

स्थानीय व्यापारी, नागरिक समाज, राजनीति दलका कार्यकर्ताले कार्यालयको समान लोड गरेको गाडी घेरेर राखेका छन् । 

सरकारले देशभरका करदाता सेवा कार्यालय खारेज गदै स्थायी लेखा नम्बर (प्यान कार्ड) अब पालिकाबाटै वितरण हुने निर्णय गरेपछि गौरस्थित करदाता सेवा कार्यालयको समान सिमरा लैजान लागिएको हो । आन्तरिक राजस्व विभागको सूचना अनुसार प्यान कार्डलगायतका सेवा स्थानीय तहबाटै हुने छ । 

तर स्थानीय व्यापारीले यसको विरोध गर्दै आएका छन् । नेपाली कम्युनिष्ट पार्टीका नेता रेवन्त झाले करदाता सेवा कार्यालय खारेज गरेर जनताले सास्ती भोग्नु पर्ने दिन आएकाले कार्यालयका समान कुनै हालतमा अन्यत्र लैजान नदिने बताए । ‘अब यहाँ पालिकाले सेवा दिने भनिएको छ । तर कतिपय काम सिमरा जानपर्ने बाध्य बनाइएको छ,’ उनले भने,‘जनतालाई सास्ती हुने काम भएकाले यो स्विकार्य छैन् । समान लैजान दिँदैनौ ।’ 

कर भुक्तानी, करचुक्ता प्रमाणपत्रलगायत धेरै सेवा भने अनलाइन प्रणालीमार्फत प्राप्त गर्न सकिने भनिए पनि स्थानीय व्यापारीले मानेका छैनन् ।

सरकारले अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागअन्तर्गत देशभरका ३९ वटा करदाता सेवा कार्यालय खारेज गरी यसका सबै सेवा स्थानीय तहबाट दिने भनिएको छ ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully