सधैं चुनावी एजेन्डा बनेको कठौना–कटैया सडक ८ वर्षमा पनि कालोपत्र भएन

१८ किलोमिटरको उक्त सडक कालोपत्र नहुँदा सुक्खायाममा धुलाम्य र वर्षामा हिलाम्य रहँदा सर्वसाधारणलाई सास्ती भइरहेको छ ।

माघ २९, २०८२

विद्यानन्द राम

What you should know

राजविराज — सप्तरीको कठौना–पातो–फत्तेपुर–कटैया सडक निर्माण सुरु भएको झण्डै ८ वर्ष भइसक्यो । तर, अझै कालोपत्र हुन सकेको छैन् ।

कुशहा नाकासम्मका लागि सर्वसाधारणलाई पूर्वपश्चिम राजमार्गमा जोड्नका लागि हुलाकी सडकको सहायक सडकका रुपमा ४ जेठ ०७५ मा नै निर्माण सुरु भएको थियो । कान्छाराम–बागमती-देव एण्ड सायर ‘जोइन्ट भेन्चर’ले भ्याटसहित ७० करोड ४४ लाख रुपैयाँमा ठेक्का पाएको उक्त सडक १७ मंसिर ०७७ सम्म बन्नुपर्ने थियो । तर, पटक–पटक म्याद थप भएर पनि कालोपत्र कार्य पूरा हुन सकेको छैन् । 

१८ किलोमिटरको उक्त सडक कालोपत्र नहुँदा सुक्खायाममा धुलाम्य र वर्षामा हिलाम्य रहँदा सर्वसाधारणलाई सास्ती भइरहेको छ । ‘क्षेत्र नम्बर ३ मा पर्ने मूल सडक नै यही हो, सधैं चुनावी एजेन्डा पनि बन्छ तर ८ वर्षमा पनि कालोपत्र हुन सकेन,’ अब्दुल खारिद जोशीले भने, ‘अहिले गाडी चल्दा धुलाम्य सडकले घर बाहिर निस्किन सक्ने अवस्था पनि छैन् ।’ सडक आसपासका घरमा पनि धुलो पसेर हैरानी भइरहेको उनले गुनासो गरे । 

अहिले फेरि यही सडकलाई एजेन्डा बनाएर भोट बटुल्न नेताहरु घरदैलोमा आइरहेको मिथिलेशप्रसाद साहले बताए । ‘यसअघि जितेर गएका र अन्य नेताहरुसित पहल गरिदिनका लागि पटक–पटक आग्रह गर्दा पनि निर्माण कार्य अघि बढाउन कसैले पहल गरिदिएन,’ उनले भने, ‘एउटै सडकका लागि कतिपटक भोट हाल्नुपर्ने हो π अब जवाफ दिनुपर्छ ।’ 

०७० र त्यसअघिका निर्वाचनको बेला पनि उम्मेदवारका लागि यो सडक चुनावी एजेन्डा रहने गरेको स्थानीयको भनाइ छ । ०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका स्वर्गीय चन्द्रकान्त चौधरीको मूल एजेन्डामध्येका एक थियो, कठौना–पातो–फत्तेपुर–कटैया सडक ।

उनी निर्वाचित भएको केही महिनापछि सडक निर्माण कार्य सुरु भए पनि तोकिएको अवधिमा पूरा हुन सकेन । 
०७९ मा पनि सोही सडक उनको चुनावी एजेन्डाको प्राथमिकतामा थियो । तर, उनी पराजित हुन पुगे । ०७४ मा दोस्रो स्थानमा मत ल्याएका कांग्रेसका दिनेशकुमार यादव ०७९ मा निर्वाचित भए । त्योबेला एमालेबाट चुनाव लडेका चन्द्रकान्तकै भाई ताराकान्त चौधरी भने दोस्रो स्थानमा रहे ।

अहिले दोस्रो कार्यकालका लागि चुनाव लडेका दिनेशकुमारको यसपटक पनि यही सडक नै मुख्य एजेन्डामध्येको एक हो । ती सडकसहित अधूरा रहेका गाईघाट–शम्भुनाथ–बनैनिया सडक, रुपनी–सिम्राहा सिंग्यौन–फकिरा–बरदाहीलगायतका सडक निर्माणमा पहल गर्ने उनको भनाइ छ ।

‘संसदमा कुरा उठाएर तथा पहल गरेर केही सडकको निर्माण कार्य अघि बढाउन सके पनि अझै केही अधुरा सडकको निर्माण कार्य र योजना कार्यान्वयन गराउन बाँकी छ,’ उनले भने, ‘त्यसका लागि सांसद रहँदा नै मन्त्रालय, हुलाकी सडक आयोजना, विभाग, राष्ट्रिय योजना आयोगसँग छलफल गरी धेरै काम गरिसकेको छु।’ 

संविधानसभा निर्वाचनमा एमालेबाट निर्वाचित भएका ताराकान्तको पनि मुख्य एजेन्डा कठौना–पातो–फत्तेपुर–कटैया सडक नै हो । ‘यो सडक यस क्षेत्रका बासिन्दाका लागि अति जरुरी छ तर विगतमा एजेन्डा बनाएकाहरुले कालोपत्र गराउनेतर्फ गम्भीरता देखाएनन्,’ उनले भने, ‘यसपाली जसरी पनि यो सडक कालोपत्र गराउन पहल गर्नुका साथै निर्वाचन क्षेत्रभरिमा रिङरोडका लागि पहल गर्ने मेरो एजेन्डा हो ।’

गुणस्तरीय शिक्षाका साथै अंग्रेजी माध्यमबाट सामुदायिक विद्यालयमा पठनपाठन, कृषि आधुनिकरण, स्वास्थ्य, धार्मिक सम्पदाको संरक्षण र पर्यटकीय स्थल बनाउने तथा ऐतिहासिक पोखरीको सौन्दर्यकरणलगायतका एजेन्डा रहेको पूर्वसांसद चौधरीको भनाइ छ । 

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका अमरकान्त चौधरीको पनि सडक सञ्जाल, परिवर्तन, स्वास्थ्य, शिक्षा र रोजगारी मूल एजेन्डा छ । ‘सडक सञ्जाल, विकास, स्वास्थ्य, शिक्षाको अवस्था त दयनीय छ नै, रोजगारी अभावका कारण अहिले गाउँका सबै युवाहरु विदेश पलायन भइसकेका छन्,’ उनले भने, ‘युवाका लागि सोच्ने युवा नै हो। देशमै रोजगारीका लागि वातावरण बनाउन हरसम्भव प्रयास गर्छु।’

यस क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा) नेपाल अध्यक्ष उपेन्द्र यादव, नेपाली कम्युनिष्ट पार्टीबाट अरुणकुमार साह, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट गजेन्द्रकुमार मण्डल, जनमत पार्टीबाट सुरेन्द्रप्रसाद शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्देश्वरप्रसाद साह, श्रम संस्कृति पार्टीबाट जयनारायण मण्डललगायत २२ जना उम्मेदवार छन् । 

विद्यानन्द राम विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully