अस्पतालका अनुसार यस अवधिमा २४ लाख ६७ हजार १ सय ३१ आँखाका र ३२ हजार ७ सय ६२ जना कान बिरामीको शल्यक्रिया भएको छ ।
What you should know
सिरहा — सिरहाको लहानस्थित सगरमाथा चौधरी आँखा अस्पताल ४३औं वर्ष पूरा गरी ४४औं वर्षमा प्रवेश गरेको छ । सन् १९८३ मा स्थापित यो अस्पताल बुधबारदेखि ४४औं वर्षमा पुगेको हो ।
यस अवधिमा यो अस्पतालसहित लहान आँखा तथा कान उपचार प्रणालीअन्तर्गतका अन्य अस्पताल र उपचार केन्द्रहरूबाट डेढ करोड बढी सर्वसाधारणले उपचार पाएका छन् । देशविदेशका गरी १ करोड ६६ लाख ९१ हजार ३ सय ८७ जनाले यो अवधिमा उपचार सेवा लिएको अस्पतालले जनाएको छ ।
जसमध्ये सगरमाथा चौधरी आँखा अस्पतालमा मात्रै ९२ लाख १४ हजार २ सय २२ जनाले आँखा तथा कानको उपचार गराएका छन् । अस्पतालका अनुसार यस अवधिमा २४ लाख ६७ हजार १ सय ३१ आँखाका र ३२ हजार ७ सय ६२ जना कान बिरामीको शल्यक्रिया भएको छ ।
जसमध्ये सगरमाथा चौधरी आँखा अस्पतालले मात्रै १५ लाख १३ हजार १ सय १३ जना आँखा तथा कान बिरामीको शल्यक्रिया गरेको छ । सन् २०२५ मा मात्र यस अस्पतालले ७ लाख ४२ हजार ८ सय ४२ जना आँखा बिरामीको उपचार गरेको अस्पतालका प्रमुख प्रशासक अभिषेक रोशनले बताए ।
जसमा ६२ हजार २ सय ६६ जना आँखा बिरामीको शल्यक्रिया गरिएको छ । अत्याधुनिक प्रविधिबाट प्रभावकारी उपचार सेवा दिएबापत यो अस्पतालले हालै विश्वस्तरीय सम्मान पाएको छ । यो अस्पताल हङकङमा एसिया प्यासिफिक एकेडेमी अप्थल्मोलोजी अवार्ड २०२६ बाट सम्मानित भएको हो ।
लहान आँखा तथा कान उपचार प्रणालीअन्तर्गत मधेश प्रदेशमा सगरमाथा चौधरी आँखा अस्पताल र कोशी प्रदेशमा विराटनगर आँखा अस्पताल छन् भने बागमती, कोशी र मधेश प्रदेशमा ४० वटा आँखा उपचार केन्द्र सञ्चालनमा छन् । अस्पतालमा देशका सबै जिल्लासहित भारत, बंगलादेश, भुटानलगायत देशबाट पनि बिरामी आउने गरेका छन् ।
