मिर्चैयामा मोटरसाइकल चोरीका घटना बढे

मिर्चैया बजार र आसपासका क्षेत्रका पछिल्लो समय मोटरसाइकल चोरीका घटनाले सर्वसाधारण आतंकित बनेका छन् ।

माघ २९, २०८२

विनय आजाद

What you should know

सिरहा — मिर्चैया नगरपालिका-७ का राजाराम यादव गत २० गते बेलुकी मिर्चैयास्थित कटारी चोकमा मोटरसाइकल राखेर बजारमा किनमेल गर्न गए । तर, किनमेल सकेर केही समयमा फर्केपछि त्यहाँ मोटरसाइकल थिएन ।

स ८ प ३८९९ नम्बरको एक सय पचास सीसीको उनको पल्सर मोटरसाइकल आफैले खोज्दा नभेटिएपछि उनले प्रहरीमा उजुरी दिएका छन् । प्रहरीले यस विषयमा अनुसन्धान र मोटरसाइकल खोज्ने कार्य गरिरहेको छ। तर, भेटिएको छैन ।

मिर्चैयाबाटै गत मंगलबार फेरि अर्को मोटरसाइकल चोरी भयो । थाना चोकस्थित बजार जाने सडक छेउमा राखिएको मप्र ०१-००५-५८४८ नम्बरको १ सय ५० सीसीको पल्सर मोटरसाइकल साँझ ९ बजेतिर चोरी भएको हो ।

मोटरसाइकल धनी अरुण महासेठले प्रहरीमा उजुरी दिएका छन् भने प्रहरीले खोजीकार्य गरिरहेको छ । तर, यो मोटरसाइकल पनि भेटिएको छैन ।

यसरी मिर्चैयाबाट मोटरसाइकल चोरीका यी घटना त उदाहरण मात्रै हुन्। मिर्चैया बजार र आसपासका क्षेत्रका सर्वसाधारण पछिल्लो समय मोटरसाइकल चोरीका घटनाले आतंकित बनेका छन् ।

विगत दुई महिनामा मात्रै यहाँका विभिन्न व्यक्तिका घर तथा सार्वजनिक स्थानबाट झन्डै दुई दर्जन मोटरसाइकल चोरी भएका छन्। जसमध्ये यस अवधिमा इलाका प्रहरी कार्यालय, मिर्चैयामा १६ वटा उजुरी परेको छ ।

मंसिर महिनामा एउटा, पुषमा ५ वटा र माघ महिनामा १० वटा गरी १६ वटा मोटरसाइकल चोरीको उजुरी परेको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता एवं डीएसपी रमेशबहादुर पालले जनाए । यसमध्ये केही मोटरसाइकल भेटिएको भए पनि अधिकांशको अवस्था अझै अज्ञात छ ।

अहिलेसम्म भेटिएका मोटरसाइकलहरूमध्ये केही बेवारिसे तथा केही ट्राफिक चेकिङ पोइन्टबाट भेटिएको प्रहरीले जनाएको छ । 'जाँचका क्रममा कागजात नभएपछि प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिने गर्छ,' डीएसपी पालले भने, 'तर, नियन्त्रणमा लिइएका कतिपय मोटरसाइकल कागजातसहित फेरि कसैले लिन आउँदैन, त्यसपछि अनुसन्धान गर्दा ती मोटरसाइकल चोरीका हुन् भन्ने खुल्छ ।'

अहिलेसम्म पनि नभेटिएका मोटरसाइकलहरूको खोजी र यसमा संलग्न गिरोहको पहिचान गर्न सूक्ष्म अनुसन्धान भइरहेको डीएसपी पालले बताए । यस कार्यमा खासगरी लागूऔषधको दुर्व्यसनमा परेका युवाहरू संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

उनीहरूले मोटरसाइकल चोरी गर्ने, ती मोटरसाइकल सस्तोमा बेच्ने र त्यस रकमबाट लागूऔषध किनेर प्रयोग गर्ने गरेको तथ्य प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यद्यपि, उनीहरूलाई यस्तो कार्य गर्न उक्साउने ठूलो गिरोह हुनसक्ने प्रहरीको अनुमान छ ।

'मोटरसाइकल सस्तोमा किन्ने र बेच्ने गिरोह लागूऔषधको लतमा परेका युवाहरूलाई प्रयोग गरिरहेको हुनसक्छ,' डीएसपी पालले भने, 'यस विषयमा हामीले गम्भीर ढंगले अनुसन्धान गरिरहेका छौं ।'

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully