सामुदायिक वनमा राखेको ८ हजार क्यूफिट सालका गोलियामा आगजनी

६ वर्षअघि कटान गरी सामुदायिक वनक्षेत्रमा घाटगद्दी गरेको ८ हजार बढी क्युफिट सालको गोलियामा आगो लगाएको हो ।

माघ २९, २०८२

शिव पुरी

रौतहट — रौतहटको चन्द्रपुर नगरपालिका–२ जुडिबेलास्थित नमुना सामुदायिक वन उपभोक्ता समूहको वनक्षेत्रमा घाडगद्दी गरिएको सालको गोलियामा बिहीबार आगजनी भएको छ।

सामुदायिक वनले ६ वर्षअघि कटान गरी वनक्षेत्रमा घाटगद्दी गरेको ८ हजार बढी क्यूफिट सालको गोलियामा आगो लगाएको हो । आगजनीबाट १ करोड बढी मूल्यको सालको गोलिया जलेर नष्ट भएको छ । आगो लगाउनेको पहिचान खुलेको छैन् ।

समयमै काठ बिक्री हुन नसकेकाले क्षति भएको स्थानीयले बताएका छन् । ०७६ सालमा ४ सय केभीए लाइन विस्तारको क्रममा काटिएका सालको गोलिया घाटगद्दीस्थलमा राखिएको थियो । डिभिजन वन कार्यालयका अनुसार उक्त काठको बजार मूल्य झण्डै १ करोड हुन्छ । 

उपभोक्ता समूहको लेखापरीक्षण र साधारणसभा नगरेकाले ऊक्त काठ बेच्न नसकेको जुडिबेला सव–डिभिजन वन कार्यालयका अधिकृत बालकिसोर सिंहले बताए । ‘बिक्रिका लागि प्रक्रिया नपुगेकोले त्यतिकै राखिएको थियो,’ उनले भने,‘आगजनी गर्नेको पहिचान भएको छैन ।’ झण्डै ५ घण्टा जति सालको गोलियमा आगो दन्किएको थियो । सशस्त्र र प्रहरी आगो निभाउन खटेको थियो । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ । 

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully