अपांगता भएका १६ बालबालिकालाई सहयोग

‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रमअन्तर्गत लाइफ नेपाल नामक संस्थाले वीरगन्ज महानगरपालिकासँगको सहकार्यमा सहयोग उपलब्ध गराएको हो ।

माघ २८, २०८२

शंकर आचार्य

पर्सा — वीरगन्ज महानगरपालिकाअन्तर्गत विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत अपांगता भएका १६ बालबालिकालाई शैक्षिक सहयोगस्वरूप जनही पाँच हजार रुपैयाँ प्रदान गरिएको छ । 

‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रमअन्तर्गत लाइफ नेपाल नामक संस्थाले वीरगन्ज महानगरपालिकासँगको सहकार्यमा सहयोग उपलब्ध गराएको हो । बुधबार महानगर प्रमुख राजेशमान सिंहले बालबालिकालाई नगद सहायता हस्तान्तरण गरे । 

सिंहले अपांगता भएका बालबालिकाको शिक्षा सुनिश्चित गर्नु राज्य र समाज दुवैको दायित्व भएको बताए । उनले आर्थिक अभावका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले महानगरले सहयोगात्मक कार्यक्रम सञ्चालन गर्दै आएको बताए । यस्ता सहकार्यले समावेशी शिक्षाको प्रवर्द्धनमा टेवा पुग्ने उनको विश्वास छ । 

लाइफ नेपालकी प्रतिनिधि कन्चन कोइरालाले सेतो र पहेँलो परिचयपत्र प्राप्त गरेका बालबालिकालाई लक्षित गरी सहयोग प्रदान गरिएको जानकारी दिइन् । रातो र निलो परिचयपत्रधारी अपांगता भएका व्यक्तिले सरकारबाट मासिक भत्ता पाउने व्यवस्था भए पनि सेतो र पहेंलो कार्डधारीले नियमित आर्थिक सहयोग नपाउने अवस्थालाई ध्यानमा राखेर विद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री, पोशाक तथा अन्य आवश्यकताका लागि सहयोग उपलब्ध गराइएको उनले बताइन् । सहयोग प्राप्त गर्ने बालबालिकामध्ये ६ बालिका र १० बालक रहेका छन् ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully