रेल ढुवानी अव्यवस्थाको कूटनीतिक समाधान गर्न संघको माग

कोलकाता र विशाखापटनम बन्दरगाहबाट वीरगन्ज सुक्खा बन्दरगाहसम्म आइपुग्न सामान्यतया तीनदेखि सात दिन लाग्ने रेल्वे र्‍याक अहिले १० देखि २५ दिनसम्म लाग्ने गरेको उद्योगीहरु बताउँछन्।

माघ २७, २०८२

शंकर आचार्य

Union demands diplomatic solution to rail transport chaos

पर्सा — भारतका प्रमुख बन्दरगाह हुँदै नेपाल भित्रिने मालसामानको रेल ढुवानी तीन महिनायता गम्भीर रुपमा अवरुद्ध हुँदा उद्योग नै संकटमा पर्ने अवस्था आएको यस क्षेत्रका उद्योगीले गुनासाे गरेका छन्।

कोलकाता र विशाखापटनम बन्दरगाहबाट वीरगन्ज सुक्खा बन्दरगाहसम्म आइपुग्न सामान्यतया तीनदेखि सात दिन लाग्ने रेल्वे र्‍याक अहिले १० देखि २५ दिनसम्म लाग्ने गरेको उद्योगीहरु बताउँछन्। यसरी सामान अल्झिन थालेपछि कच्चा पदार्थ अभाव, उत्पादन अवरोध र लागत वृद्धिको दोहोरो मार खेपिरहेको उनहरुको गुनासो छ।  

भारतीय रेल्वे नेटवर्कले यात्रुवाहक रेललाई प्राथमिकता दिइनु, मालवाहक रेललाई पर्याप्त र्‍याक नदिनु तथा सीमावर्ती क्षेत्रमा प्रशासनिक समन्वय कमजोर हुनु जस्ता कारण ढुवानी ढिलाइले यो समस्या चर्किँदै गएको गुनासो यहाँका उद्योगी व्यवसायीको छ ।

कतिपय अवस्थामा रेल्वे र्‍याक रक्सौल–वीरगन्ज नाकानजिक आइपुगेपछि पनि धेरै दिनसम्म रक्सौलमै रोकिएको उद्योगीहरुको भनाइ छ । वीरगन्ज उद्योग वाणिज्य संघले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिवलमई पत्राचार गरी यो समस्याको अविलम्ब समाधानको माग गरेको छ ।

संघका अध्यक्ष हरि गौतमले हस्ताक्षर गरेको पत्रमा कोलकाताबाट लोड भएको कन्टेनर नेपाल आइपुग्न औसत १५ देखि २५ दिन लाग्न थालेको उल्लेख छ । बिगतमा तीनदेखि चार दिनमा आइपुग्ने मालसामान अहिले तीन साता कुर्नु पर्ने र यसले उद्योगहरुको उत्पादन तालिका, बजार आपूर्ति र मूल्य स्थिरता सबै प्रभावित भएको पनि पत्रमा उल्लेख छ।

संघले भारत सरकारका सम्बन्धित निकाय र त्यसमा पनि भारतीय रेल्वे विभागसँग उच्च तहमा कूटनीतिक समन्वय गर्न माग गरेको छ । संघले कोलकाताबाट लोड भएको रेल्वे रेक तीन–चार दिनभित्र र विशाखापटनमबाट ६–७ दिनभित्र वीरगन्ज आइपुग्ने स्थायी संयन्त्र बनाउन पनि आग्रह गरेको छ ।

नेपालको कुल आयातमध्ये करिब ८० प्रतिशत वीरगन्ज नाका हुँदै भित्रिने गर्छ । तीमध्ये ठूलो हिस्सा रेलमार्गमै निर्भर छ । यस्तो अवस्थामा रेल ढुवानी अवरुद्ध हुँदा सिमेन्ट, स्टिल, खाद्य प्रशोधन, प्लास्टिक, केमिकल, औषधि तथा निर्माण सामग्री उद्योग सबैभन्दा बढी प्रभावित भएको संघका वरिष्ठ उपाध्यक्ष माधव राजपाल बताउँछन् ।

यसले उत्पादन लागत बढाएको, बजारमा कृत्रिम अभाव सिर्जना हुन सक्ने र अन्ततः उपभोक्तामाथि मूल्यवृद्धिको भार पर्न जाने उनको भनाई छ । नेपाल–भारत व्यापार सम्झौतामा रेल ढुवानीलाई प्राथमिकता दिने व्यवस्था भए पनि व्यवहारमा कार्यान्वयन पक्ष कमजोर भएकाले यो समस्या भइरहेको राजपाल बताउँछन्।

रेलमार्ग नेपालका लागि सबैभन्दा सस्तो, सुरक्षित र भरपर्दो ढुवानी माध्यम हो । तर यही प्रणाली अव्यवस्थित हुदा नेपालको आयात–निर्यात संरचनामै गम्भीर समस्या उब्जिएको उनले बताए । समयमै प्रभावकारी पहल नभए रेल ढुवानीमा निर्भर नेपाली उद्योग अझ गहिरो संकटमा फस्ने र यसको असर समग्र अर्थतन्त्रमा देखिने उनले बताए ।

वीरगन्ज भन्सार सिर्सिया सुक्खा बन्दरगाह सन्चालन गर्ने कम्पनी प्रिष्टिन भ्यालीका अपरेशन इन्चार्ज अभिषेक मिश्र भारतीय रेल्वे प्रणालीमा दुई महिना अघिसम्म समस्या रहे पनि हाल भने त्यो समस्या नरहेकाले मालवाहक रेल कोलकाता र विशाखपटनमबाट वीरगन्ज आउन तुलनात्मक रुपमा कम समय लागिरहेको दाबी गर्छन् । उनले जनवरी लागेयता भारतीय रेल्वेले सेवामा सुधार गरेकाले अब कोलकाताबाट वीरगन्ज मालवाहक रेल आउन ८ दिन र विशाखापटनमबाट १० दिनमात्र लागिरहेको उनको दाबी छ । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully