घटनामा संलग्न भएको आरोपमा अर्जुन यादवलाई प्रहरीले पक्राउ गरेको छ
पर्सा — वीरगन्जमा शुक्रबार मोटरसाइकल पार्किङको बिषयमा भएको विवाद र झगडामा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–१३ राधेमाईका ६५ वर्षीय केपीचन्द्र राउत बरई छन् ।
बिहान करिब ७ बजेको समयमा छिमेकी अर्जुन यादवसँग घरनजिक पार्किङ गरिएको मोटरसाइकललाई लिएर सामान्य भनाभन सुरु भई उग्र विवादमा परिणत हुँदा बरई गम्भीर घाइते भएका थिए ।
घाइते बरईलाई उपचारका लागि तत्काल वीरगन्जस्थित तराई अस्पताल पुर्याइएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न भएको आरोपमा अर्जुन यादवलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन् ।
