पर्साका‍ ६२ मतदानस्थल 'अति संवेदनशील'

चार निर्वाचन रहेको पर्सामा क्षेत्र नम्बर १ मा ३४, २ मा ३८, ३ मा ४७ र क्षेत्र ४ मा ४८ मतदानस्थल रहेका छन्।

माघ २२, २०८२

शंकर आचार्य

62 polling stations in Parsa 'highly sensitive'

What you should know

पर्सा — जिल्लाका १ सय ६७ मतदानस्थलमध्ये ६२ लाई अति संवेदनशील सूचीमा राखिएको छ। बाँकीमध्ये ८५ वटा संवेदनशील र २० वटा कम संवेदनशील सूचीमा छन्।

जिल्लामा दुई अस्थायीसहित ४ सय ४३ मतदान केन्द्र छन्। चार निर्वाचन क्षेत्र रहेकाे पर्सामा क्षेत्र नम्बर १ मा ३४, २ मा ३८, ३ मा ४७ र क्षेत्र ४ मा ४८ मतदानस्थल रहेका छन्। 

प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला सुरक्षा समितिले मतदानस्थल निरीक्षण थालेको छ। जिल्लाका १ सय ६७ मतदानस्थलमध्ये बिहीबारसम्म ६० वटाको स्थलगत निरीक्षण गरेको छ।

प्रमुख जिल्ला अधिकारीसहितका जिल्ला सुरक्षा निकाय प्रमुखले निरीक्षणका क्रममा मतदानस्थलको भौतिक अवस्था, सुरक्षा चुनौती र आवश्यक तयारीको मूल्यांकन गरिरहेको जनाएका छन्।

प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा चारवटै सुरक्षा निकाय, जिल्ला निर्वाचन कार्यालय लगायतको टोलीले दैनिक रूपमा मतदानस्थल तथा मतदान केन्द्रको अनुगमन गरिरहेको छ। निरीक्षणका आधारमा सुरक्षा रणनीति परिमार्जन र थप व्यवस्थापन गरिँदै आएको प्रजिअ दाहालले बताए । निरीक्षणमा देखिएका जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायबीच समन्वय बढाइएको उनले बताए । 

एक सय सात किलोमिटर खुला सीमा रहेको पर्सामा निर्वाचन अवधिमा सीमा क्षेत्रको निगरानी पनि कडाइ गरिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठकले बताए । उनले आवश्यक जनशक्ति परिचालन र सुरक्षा प्रबन्ध मिलाइएको बताए । 

जिल्ला निर्वाचन कार्यालय पर्साका प्रमुख अनामिका रौनियारले मतदाता शिक्षासम्बन्धी कार्यक्रममा जोड दिइएको बताउदै निर्वाचन आचारसंहिताअनुसार उम्मेदवारले भारतीय नम्बर प्लेट भएका सवारीसाधन प्रयोग गर्न नपाउने विषयमा पनि सचेत गराइएको बताइन् ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully