सप्तरी–२ मा पुरानाको 'प्रतिष्ठा', नयाँको 'परीक्षा'

सप्तरी–२ मा पुराना उम्मेदवारलाई प्रतिष्ठाको विषय बनेको चुनाव नयाँ पुस्तालाई भने परीक्षा हो।

माघ १७, २०८२

विद्यानन्द राम

The 'reputation' of the old, the 'test' of the new in Saptari-2

What you should know

राजविराज — आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सप्तरी क्षेत्र नम्बर २ मा चुनावी सरगर्मी बढ्दो छ।

यहाँ पुराना र नयाँ उम्मेदवार पनि कम्मर कसेर चुनावमा होमिँदा चुनावी माहौल रोचक बनेको छ। पुरानालाई हार–जित प्रतिष्ठाको विषय बनेको छ। नयाँ पुस्तालाई भने यो चुनाव परीक्षा हो। 

उनीहरु यतिबेला मतदाता रिझाउन घरदैलोमा व्यस्त देखिएका छन्। यस क्षेत्रमा २०७९ को निर्वाचन फर्केर हेर्दा जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सीके) राउत र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव चुनावी प्रतिस्पर्धा गरेका थिए। 

डा.राउतले ३५ हजार ४२ मत पाएर निर्वाचित हुँदा प्रतिद्वन्दी यादवले १६ हजार ९ सय ७९ मत प्राप्त गरेका थिए। त्यस अघिल्लो निर्वाचन २०७४ मा उपेन्द्र यादव यस क्षेत्रमा निर्वाचित भएका थिए। यादवले २१ हजार ६२० मत ल्याएर निर्वाचित हुँदा त्यसबेला प्रतिद्वन्द्वी तत्कालीन नेकपा माओवादी केन्द्रका उमेशकुमार यादवले ११ हजार ५७९ मत पाएका थिए। 

माओवादीबाट २०७० मा संविधानसभा चुनावमा जितेर सिँचाइमन्त्रीसमेत भइसकेका उमेश अहिले जसपा नेपालबाटै यस क्षेत्रका उम्मेदवार हुन् भने जनमतका अध्यक्ष डा.राउत पनि यसै क्षेत्रबाट दोहोर्‍याएर चुनावी मैदानमा छन्। 

राउतकै पार्टी र प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर यस क्षेत्रमा पूर्वमुख्यमन्त्री सतिशकुमार सिंह पनि मैदानमा छन्। यसपाली आफ्नै भाई सत्यवान सिंह संयोजक रहेको स्वाभिमान पार्टीबाट उम्मेदवारी दिएका पूर्वमुख्यमन्त्री सिंह २०७९ मा २(१) बाट १६ हजार ४३४ मत ल्याएर जनमत पार्टीबाट प्रदेशसभामा निर्वाचित भएका थिए । 

बदलिँदो राजनीतिक समीकरण र पुस्तान्तरणको दबाब यस क्षेत्रमा पनि देखिएको छ। निर्वाचनको सरगर्मी बढ्दै जाँदा गाउँदेखि सहरसम्मका मतदातामाझ अहिले पुस्तान्तरणको बहसले प्राथमिकता पाइरहेको छ। तर, ‘हेभिवेट’ आमने–सामने भइरहेको यस क्षेत्रमा नयाँ पुस्ताका उम्मेदवारले कति अंक पाउँलान्? त्यो हेर्न बाँकी छ। 

यहाँ ३५ वर्षसम्मका नयाँ पुस्ताका उम्मेदवार हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा), सार्वभौम नागरिक पार्टी र आम जनता पार्टी (आजपा) तथा ७ जना स्वतन्त्र छन्। रास्वपाबाट ३० वर्षका रामजी यादव, एमालेबाट ३३ वर्षका मोहम्मद सफिद रहमान, राप्रपाबाट २७ वर्षका अजयकुमार दास, नेमकिपाबाट २५ वर्षकी निलमकुमारी यादव, सार्वभौम नागरिकबाट ३३ वर्षका दिपककुमार मण्डल र आजपाबाट ३२ वर्षका सुनिलराज दास प्रतिस्पर्धामा छन्। 

यहाँ स्वतन्त्रबाट ३० वर्षका जितेन्द्रकुमार यादव, २९ वर्षका पारशमणि यादव, २९ वर्षका सञ्जयकुमार चौधरी, ३३ वर्षका अभिनाषकुमार सिंह, ३५ वर्षका प्रेमकुमार यादव, ३४ वर्षका विशेश्वर यादव र ३२ वर्षकी सुशीलाकुमारी साहले उम्मेदवारी दिएका छन्। 

कति मतदाता थपिए?
यस निर्वाचन क्षेत्रमा पर्ने राजविराज नगरपालिका तथा तिलाठी कोइलाडी, महादेवा र छिन्नमस्ता गाउँपालिकाका ३७ वटा वडा छन्। जिल्लाभरिमा २०७९ को निर्वाचनभन्दा २७ हजार ३ सय ९३ जना मतदाता बढ्दा राजविराजमा १ हजार ९ सय ७४ पुरुष र २ हजार ३१ महिला गरी ४ हजार ५ मतदाता थपिएका छन्।

तिलाठी कोइलाडीमा १ हजार १५ पुरुष र १ हजार २९ महिला गरी २ हजार ४४, महादेवामा ९ सय ३० पुरुष र ९ सय ४६ महिला गरी १ हजार ८ सय ७६ तथा छिन्नमस्तामा ९ हजार ६ पुरुष र ८ सय ३७ महिला गरी १ हजार ७ सय ४३ जना मतदाता थपिएका छन्। 

थपिएका मतदाता जोड्दा राजविराजमा २३ हजार ९ सय ७७ पुरुष, २१ हजार २ सय ६५ महिला र दुई अन्य गरी ४५ हजार २ सय ४४, तिलाठी कोइलाडीमा ११ हजार ७ सय ९ पुरुष र १० हजार १७९ महिला गरी २१ हजार ८ सय ८८, महादेवामा १० हजार २३ पुरुष र ८ हजार ९ सय ४५ महिला गरी १८ हजार ९ सय ६८ र छिन्नमस्तामा १० हजार ६ सय ९१ पुरुष र ९ हजार १ सय ३१ महिला गरी १९ हजार ८ सय २२ जना पुगेका छन्। यस क्षेत्रमा ५६ हजार ४ सय पुरुष, ४९ हजार ५ सय २० महिला र २ जना अन्य गरी कूल १ लाख ५ हजार ९२२ जना मतदाता छन्। 

विद्यानन्द राम विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully