नेपालका लागि जापानका राजदूत मायदा तोरुले पुनर्निर्माण गरिएका ती संरचना नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीलाई हस्तान्तण गरेका हुन्।
राजविराज — जीर्ण भएको मुलुकको पहिलो सिँचाइ प्रणाली चन्द्रनहरका केही संरचना जापान सरकारले पुनर्निर्माण गरेर नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।
बुधबार सप्तरीको सप्तकोशी नगरपालिका–१० स्थित भगनी मलेठमा आयोजित कार्यक्रमकाबीच नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीलाई हस्तान्तण गरिएको हो।
नेपालका लागि जापानका राजदूत मायदा तोरुले पुनर्निर्माण गरिएका ती संरचना हस्तान्तरण गरेका हुन्। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले हाज्मा एन्डो कर्पोरेसन र एनटिसी इन्टरनेसनल जापानसँगको सहकार्यमा पुनर्निर्माण गरिएको थियो।
विक्रम सम्वत् १९८५ मा सञ्चालनमा आएको २८ किलोमिटर लामो चन्द्रनहरले कूल १० हजार ५ सय हेक्टर जग्गामा सिंचाइ पुर्याउँदै आएको थियो । तर, नहर जीर्ण भएपछि ‘कमाण्ड एरिया’को ५०/६० प्रतिशत मात्रै सिंचाई पुर्याउन कठिन हुँदै आएको थियो। अहिले जाइकाले पुनर्निर्माण गरेपछि केही हदसम्म मद्दत पुग्ने कोसी पम्प, चन्द्रनहर सिंचाई व्यवस्थापन कार्यालय राजविराजका प्रमुख विरेन्द्र यादवले बताए।
‘जापान सरकारले इर्स्टन तराई रिहृयाबिटेसन इरिगेसन प्रोजेक्टअन्तर्गत चन्द्रनहरमा पुनर्निर्माणका कार्य गराएको हो,’ उनले भने, ‘आठवटा नहरमुनि पास, नौवटा क्रस निकास र १५ वटा नहर क्रसिङ पुल गरी ३२ वटा संरचना निर्माण भएको हो।’
जापान सरकारले २ अर्ब २५ करोड ६० लाख जापानी येन (२ अर्ब ५ करोड १० लाख नेपाली रुपैयाँ) को लगानीमा सञ्चालन गरेको सो परियोजनामा प्राविधिक र प्रविधि पनि जापानकै खटाइएको थियो।
