रिलायन्स सुगर मिलले चर्को ढुवानी भाडा लिएको किसानको आरोप

उखु उत्पादक किसान संघ पर्साका सचिव पृथ्वी साहले यस वर्ष पर्साबाट बारास्थित उद्योगसम्म उखु ढुवानी भाडा प्रतिक्विन्टल ८० रुपैयाँ लिइरहेको बताए।

माघ १२, २०८२

शंकर आचार्य

Farmers allege Reliance Sugar Mills charging exorbitant transportation fees

What you should know

पर्सा — बारास्थित रिलायन्स सुगर मिलले किसानसँग उखु ढुवानीको बढी भाडा लिएर किसानलाई ठग्ने काम गरेको उखु किसानले गुनासो गरेका छन् ।

उखु उत्पादक किसान संघ पर्साका सचिव पृथ्वी साहले यस वर्ष पर्साबाट बारास्थित उद्योगसम्म उखु ढुवानी भाडा उद्योगले प्रतिक्विन्टल ८० रुपैयाँ लिइरहेको बताए।

गत वर्ष यो भाडा दर प्रतिक्विन्टल ६५ रुपैयाँ रहेकोमा यस वर्ष एकै पटक १५ रुपैयाँ वृद्धि गरेर किसानलाई मार पार्ने काम गरेको उनले आरोप लगाए । ‘उद्योग व्यवस्थापनले आफ्नै मिलेमतोको ढुवानी ठेकेदार खडा गरेर यस्तो काम गरी रहेको छ,’ उनले भने, ‘हामीले पत्ता लगाउँदा ८० रुपैयाँमा ६७ रुपैयाँ उद्योग व्यवस्थापनले ढुवानीकर्तालाई दिन्छ, बाँकी १३ रुपैयाँ आफै राख्छ ।’

यस वर्ष राैतहटको बाबा बैजुनाथ चिनी मिलले पर्सामा काँटा सन्चालन नगरेको अवस्थामा रिलायन्सले आफ्नो मनपरी गरेर किसान मार्ने काम मात्र गरिरहेको उनले बताए । उद्योग व्यवस्थापनसँग कुरा गर्दा ढुवानी भाडामा पनि १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्ने जवाफ दिने गरेको साहले बताए । ‘ढुवानीमा २ प्रतिशतसम्म टिडिएस काटनु  मान्य छ,’ उनले भने, ‘१३ प्रतिशत मूल्य अभिवृद्धि कर जोड्नु कत्तिको न्यायोचित हो ?’

रिलायन्सले यस वर्ष पर्सामा मंसिर २९ देखि उखुको चलान दिएको पुस ३ देखि उखु क्रसिंग सुरु गरेको उनले बताए । तर पर्सामा उक्त उद्योगले काँटा सन्चालन नगरेको र उद्योगको पर्साको पोखरियास्थित खरिद केन्द्रमा एक जना पनि कर्मचारी र जेटीए नबस्ने भएकाले आफूहरु झनै मारमा परेको उनले बताए । पर्सामा यस वर्ष तीन हजार तीन सय बिघामा उखु खेती गरिएकोमा यहाँबाट उद्योगले ७ लाख क्विन्टल उखु पाउने साहले बताए।

संघले रिलायन्सले गरिरहेको यो गलत काम र पर्सा जिल्लाका सडकमा उखु  किसानको गाडीसँग लिइने अवैध करको बिरोध गर्दै एक महिनाअघि प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापनपत्र बुझाए पनि निकास नपाएको उनले बताए ।

उखु उत्पादक किसान संघ पर्साका अध्यक्ष असर्फी साहले रिलायन्स सुगरले २०७४ सालदेखिको संघलाई दिने प्रतिक्विन्टल १५ पैसा नदिएर अल्झाउने काम मात्र गरिरहेको उनले बताए।  ‘यो पैसाले संघको कार्यालय सन्चालन तथा व्यवस्थापन, कच्ची सडकहरुमा माटो भर्ने लगायतको काम संघले गर्छ,’ उनले भने, ‘तर रिलायन्सको व्यवस्थापनले एक दशकदेखि यो रकम रोक्का गरेर संघप्रति ठूलो अन्याय गरिरहेको छ ।’

प्रमुख  जिल्ला अधिकारी दाहालले आफूले उद्योग व्यवस्थापनलाई बोलाएर किसानसँग छलफल गराई समस्या समाधानको प्रयास गरिरहेको बताए । रिलायन्स सुगर मिलका प्रबन्ध निर्देशक राजकुमार अग्रवालले किसानको आरोपमा सत्यता नरहेको जिकिर गरे । उनले किसानसँग गत वर्षकै दरमा ढुवानी भाडा लिएको दाबी गरे । यस वर्ष अप्रिल १५ सम्म उखु क्रसिङ गर्ने उद्योगको लक्ष्य रहेको उनले बताए । उद्योगले हालसम्म करिब १० लाख टन उखु क्रसिङ गरिसकेको र यस वर्ष ३० लाख टन उखु क्रसिङ गर्ने योजना रहेको उनले बताए।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully