पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राउतले रोजगारीसहितका एजेन्डामा काम भइरहेको भन्दै पूर्ण स्वायत्त प्रदेश नभएसम्म देश–प्रदेशको समुचित विकास हुन नसक्ने बताए।
राजविराज — जनमत पार्टीले आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित ‘राइट टू रिजेक्ट’ र ‘राइट टू रिकल’सम्मका मुख्य एजेन्डा सार्वजनिक गरेको छ। शनिबार राजविराजमा पत्रकार सम्मेलन गर्दै पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सीके) राउतले नौलो गणतन्त्र नै देशको निकास रहेको एजेन्डा समावेश गरी सार्वजनिक गरेका हुन्।
पार्टीले प्रत्येक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र मुख्यमन्त्रीको व्यवस्था गर्ने, विज्ञहरूबाट मन्त्रालय सञ्चालन, सांसद र सभासद् मन्त्री नबन्ने, संसद्मा हृवीप नलाग्ने, जनमत–संग्रहबाट पनि ऐन बनाउन सक्ने एजेन्डामा समावेश गरिएको छ। पार्टी भागवण्डामा नभई न्यायाधीश नियुक्त निर्वाचित हुने, आयोगसहितका संवैधानिक निकायका प्रमुखहरू प्रत्यक्ष निर्वाचित हुने एजेन्डामा उल्लेख छ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राउतले रोजगारीसहितका एजेन्डामा काम भइरहेको भन्दै पूर्ण स्वायत्त प्रदेश नभएसम्म देश–प्रदेशको समुचित विकास हुन नसक्ने बताए। रास्वपाप्रति लक्षित गर्दै राउतले संघीयता, प्रदेश र नागरिकता विधेयकको विरोध गर्ने दलले अहिले मधेशमा भोट बटुल्न एउटा पात्र खडा गरेर मधेश विद्रोहको उपलब्धि मेटाउन लागिपरेको आरोप लगाए । सप्तरी–२ बाट उम्मेदवारसमेत रहेका राउतले आफ्नो पार्टीले २०–२५ सिट जित्ने दाबीसमेत गरे।
