सप्तरी–३ मा काका–भतिज आमने-सामने

दोस्रो संविधानसभामा तत्कालीन क्षेत्र नं ४ बाट निर्वाचित सांसद ताराकान्त चौधरी र उनका भतिज अमरकान्त चौधरी अहिले चुनावी प्रतिस्पर्धामा छन्। ताराकान्तले नेकपा एमाले र अमरकान्तले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारी दर्ता गराएका हुन्।

माघ ८, २०८२

विद्यानन्द राम

Uncle and nephew face to face in Saptari-3

What you should know

राजविराज — आगामी फागुन २१ मा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारीहरूको दौडधूप सुरु भएको छ। गत मंगलबार उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरू मतदातासमक्ष आफ्ना चुनावी प्रतिबद्धता सुनाइरहेका छन्।

सप्तरी क्षेत्र नं ३ का केही उम्मेदवारले चुनावी अभियान सुरु गरिसकेका छन् भने केही अभियानका लागि तयारीमा जुटेका छन्।

त्यहाँ जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, निवर्तमान र पूर्वसांसददेखि एउटै परिवारबाट दुई जना उम्मेदवारसम्म चुनावी प्रतिस्पर्धामा छन्। काका-भतिज आमने-सामने हुँदा यहाँको प्रतिस्पर्धा थप रोचक बनेको छ । दोस्रो संविधानसभामा तत्कालीन क्षेत्र नं ४ बाट निर्वाचित सांसद ताराकान्त चौधरी र उनका भतिज अमरकान्त चौधरी अहिले सप्तरी-३ बा६ चुनावी प्रतिस्पर्धामा छन्।

ताराकान्तले नेकपा एमाले र अमरकान्तले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारी दर्ता गराएका हुन्। अमरकान्त २०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट जितेका चन्द्रकान्तका छोरा हुन्। चन्द्रकान्तको गत पुस २६ मा निधन भएको थियो। अमरकान्त किरिया बसिरहँदा नै उम्मेदवारी दर्ता गराएका थिए।

ताराकान्त २०७४ मा ११ हजार १ सय ८८ मत ल्याएर तेस्रो हुँदा अमरकान्तका बुवा चन्द्रकान्तले २२ हजार ५ सय ८४ ल्याएर निर्वाचित भएका थिए। त्यो बेला नेपाली कांग्रेसका दिनेशकुमार यादवले १९ हजार ४ सय १ मत प्राप्त गरे। २०७९ मा यस क्षेत्रबाट कांग्रेसका यादवले नै २६ हजार १ सय ६६ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिद्वन्दी एमालेका ताराकान्तले २२ हजार ३ सय मत प्राप्त गरेका थिए। त्यो बेला चौधरीलाई जसपा नेपालले पनि समर्थन गरेको थियो।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully