वीरगन्जमा खाद्यद्वारा ८३ सय ३७ क्विन्टल धान खरिद

किसानलाई २ सय ७५ थान टोकन वितरण गरिएकोमा २ सय २५ बढी टोकनबाट धान खरिद भइसकेको छ ।

माघ ८, २०८२

शंकर आचार्य

Food Ministry purchases 8,337 quintals of rice in Birgunj

पर्सा — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्ज शाखाले ८ हजार ३ सय ३७ क्विन्टल धान खरिद गरेको छ ।

शाखा प्रमुख पंकजकुमार झाका अनुसार पुस ६ देखि धान खरिद सुरु गरिएकोमा एक महिनाको अवधिमा यति परिमाणमा धान खरिद भएको हो ।  

शाखाले यस वर्षदेखि टोकन प्रणालीबाट किसानको धान खरिद गरिरहेको छ । किसानलाई २ सय ७५ थान टोकन वितरण गरिएकोमा २ सय २५ बढी टोकनबाट धान खरिद भइसकेको छ ।

प्रत्येक किसानलाई  ४० क्विन्टलको दरले धान खरिदको टोकन वितरण गरिएको छ । आउँदो तीन/चार दिनभित्रै लक्षित परिमाणका धान खरिद  भइसक्ने उनले बताए । यस वर्ष शाखाले १० हजार क्विन्टल धान खरिदको कोटा पाएको छ ।

टोकन पाएका किसानबाट लक्ष्य अनुरुप धान नआए प्रतीक्षा सूचीमा राखिएका किसानबाट धान खरिद गरिने उनले बताए । शाखामा यस वर्ष पर्सा, बारा, रौतहट र सर्लाहीसम्मका किसानले धान बिक्रीका लागि ल्याएका छन् ।

यस वर्ष पनि शाखाले सोना मन्सुली धान मात्र खरिद गरिरहेको छ । सोना मन्सुली धानको समर्थन मूल्य संघीय सरकारले यस वर्ष प्रतिक्विन्टल ३ हजार ६ सय २८ रुपैयाँ ३३ पैसा निर्धारण गरेकाले शाखाले पनि सोही मूल्यमा खरिद गरिरहेको छ। 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully