उपप्रमुखलाई कारबाही माग गर्दै सिम्रौनगढका कर्मचारी सातादेखि आन्दोलित

विद्यालय र स्वास्थ्य सेवाका कर्मचारीहबाहेक सबै कर्मचारीले नगरपालिकाको मुख्यद्वारमा धर्ना र सडकमा प्रदर्शन गर्दै नगरको सम्पूर्ण कार्य पुस २९ देखि ठप्प पारेका छन्।

माघ ४, २०८२

लक्ष्मी साह

Simraungarh employees have been protesting for a week, demanding action against the deputy mayor.

What you should know

बारा — सिम्रौनगढ नगरपालिकाका उपप्रमुख नजमु शेहरलाई कारबाही हुनुपर्ने भन्दै सिम्रौनगढ नगरका कर्मचारी आन्दोलित भएका छन्।

प्रमुख प्रशासकीय अधिकृत बीरबहादुर साह लहेरामाथि नगर उपप्रमुखबाट दुर्व्यवहार भएको भन्दै कर्मचारीहरु कारबाहीको मागसहित आन्दोलित भएका हुन्। 

विद्यालय र स्वास्थ्य सेवाका कर्मचारीहबाहेक सबै कर्मचारीले नगरपालिकाको मुख्यद्वारमा धर्ना र सडकमा प्रदर्शन गर्दै नगरको सम्पूर्ण कार्य पुस २९ देखि ठप्प पारेका छन्।

नगरको ११ वटै वडाबाट हुने सम्पूर्ण सेवा ठप्प पारिएको छ । कर्मचारीको आत्मसम्मान, भौतिक सुरक्षाको प्रत्याभुति हुनुपर्ने र काम गर्ने वातावरण हुनुपर्ने भन्दै उनीहरुले स्थानीय प्रहरी प्रशासनसित माग गर्दै आन्दोलित छन्।

नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत बीरबहादुर साह लहेराले आफुमाथि उपप्रमुख शेहरले छलफल गर्नुपर्ने भन्दै आफ्नो कार्यकक्षमा बोलाएर हातपात र गालीगलौज गरेको आरोप लागाए।  

विशेष नगरसभाका लागि कार्यपालिका बैठक बोलाउन आफुले लेखेको पत्रमा विशेष नगरसभा भन्ने शब्द किन प्रयोग गरेको भन्दै आफुमाथि हातपात र गालीगलौज गरेको उनले बताए । ‘उपमेयरको दबाबले मैले चिठ्ठीमा लेखिएको विशेष नगरसभा शब्द काटे पनि अनावश्यक गालीगलौज गर्नुभयो,’ उनले भने, ‘ममाथि भएको घटनाको छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्छ ।’ 

उता उपप्रमुख शेहरले गत साउनमा आफुलाई पाखा लगाएर बहुमतको दम्भमा १० औं नगरसभा विधि सम्मत नगरेको र आफुलाई चाहिने बजेट नछुट्याएकोमा आक्रोशित हुँदै आएकी थिइन्।

नगरसभाविरुद्ध आफुले उच्च अदालतमा मुद्दा दिएपछि अदालतले गत साता उक्त नगरसभा बदर गर्दै अर्को गर्ने फैसला गरे पनि प्रमुख प्रशासकीय अधिकृतले सोही अनुसार गर्न आनाकानी गरेकोले आफुले दबाब मात्र दिएको बताएकी छन् । ‘मैले हातपात र गालीगलौज गरेको छैन्,’ उनले भनिन्, ‘नगरमा आफ्नो पनि अधिकार भएकोले बाइपास होइन् आफुलाई सम्मानजनक हेर्नुपर्छ ।’ 

प्रमुख प्रशासकीय अधिकृत लहेराले आफु नगरपालिका राम्रो ढंगले सञ्चालन गर्न सकारात्मक रूपमा नगरप्रमुख र उपप्रमुखबीचको विवादलाई मध्यस्थता मात्रै गरेको बताए । ‘अदालतले १० औं नगरसभाको निर्णय बदर गर्दै अर्को नगरसभा गर्न सकिने फैसला गरेको छ,’ उनले भने, ‘कानुनसम्मत वर्षमा दुईपटक हुनसक्ने नगरसभालाई विशेष सभा गर्न छलफलका लागि कार्यपालिका बैठक मात्रै डाक्न चिठ्ठी काटेको हो ।’ 

सिम्रौनगढ नगरपालिका कर्मचारी संघर्ष समितिका संयोजक सुरेशप्रसाद यादवले जनप्रतिनिधिले पटकपटक कर्मचारीमाथि दुर्व्यवहार गर्दै आएकाले अन्याय सहेर नबस्ने बताए । ‘कारबाही नभएसम्म आन्दोलन जारी रहन्छ,’ उनले भने, ‘हामी कर्मचारी मारमा र चेपुवामा छौं । प्रहरी प्रशासनले सुनुवाई गरिदिएको छैन् । त्यसैले दुःख लागेको छ ।’

लक्ष्मी साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully