सप्तरीमा निर्वाचन प्रहरीका लागि झण्डै दोब्बर आवदेन

आवदेन दिएकामध्ये ६ हजार ५ पुरुष र १ हजार ४ सय ३९ महिला छन् ।

माघ ३, २०८२

विद्यानन्द राम

राजविराज — सप्तरीमा निर्वाचन प्रहरीका लागि कोटाभन्दा झण्डै दोब्बर आवदेन परेको छ। जिल्लामा निर्वाचन प्रहरीको भर्नाका लागि पुस २५ गतेदेखि माघ १ गते बिहीबारसम्म आवेदन गर्न म्याद तोकिएको थियो।

नेपाल प्रहरी र सशस्त्र प्रहरीमा गरी कूल ४ हजार २ सय २२ जना प्रहरीको कोटा रहँदा ७ हजार ४ सय ४४ जनाले आवदेन गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले जानकारी दिए। आवदेन दिएकामध्ये ६ हजार ५ जना पुरुष तथा १ हजार ४ सय ३९ जना महिला छन् ।

निर्वाचन प्रहरीको छनाैट भने माघ ५ गतेदेखि ९ गतेसम्म हुनेछ । १२ गते अन्तिम नतिजा प्रकाशन गर्ने र माघ १५ गतेदेखि २४ गतेसम्म प्रशिक्षण सुरु गर्ने कार्यतालिका छ ।

सरकारले आगामी प्रतिनिधिसभा निर्वाचनमा खटिने निर्वाचन प्रहरीलाई प्रहरी जवानले पाउने सरहको सुविधा दिएर ४० दिन कार्यक्षेत्रमा खटाउने जनाएको छ । निर्वाचन सुरक्षा प्रहरीले प्रतिदिन ८ सय ६९ रुपैयाँ ४० पैसा पाउने जनाइएको छ ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully