बारामा ३२ मतदान केन्द्र थपिए

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मनोनयनपत्र दर्ताको पूर्वसन्धयामा आइतबार सर्वदलीय/सर्वपक्षीय बैठक डाँकेको छ।

माघ ३, २०८२

लक्ष्मी साह

32 polling stations added in Bara

What you should know

बारा — प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारामा ३२ वटा मतदान केन्द्र थप भएका छन्। जिल्ला निर्वाचन कार्यालय प्रमुख नवीन चौधरीका अनुसार गत वर्ष चार वटै संघीय निर्वाचन क्षेत्रमा ५ सय ५५ मतदान केन्द्र रहेकोमा यसपाली ५ सय ८७ पुर्‍याइयो छ।

यो निर्वाचनमा मतदाताको संख्या पनि २४ हजार बढेको छ। जिल्लामा ४ लाख ४१ हजार मतदाता रहेकोमा यसपालीको चुनावमा २४ हजार मतदाता थप भएर ४ लाख ६५ हजार पुगेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मनोनयनपत्र दर्ताको पूर्वसन्धयामा आइतबार सर्वदलीय/सर्वपक्षीय बैठक डाँकेको छ। 

कार्यालयका सहायक निर्वाचन अधिकृत राजकुमार दाहालका अनुसार माघ ६ गते उमेदवारको मनोनयनपत्र दर्ता गर्ने तालिका अनुसार व्यवस्थापनका लागि बैठक बोलाइएको हो। मुख्य निर्वाचन अधिकृतको कार्यालयसँगै ४ वटै संघीय निर्वाचन क्षेत्रमा कार्यालय खोलेर कार्य थालिसकेको उनले बताए । माघ ६ गते उम्मेदवार मनोनयनका लागि आइतबार सर्वपक्षीय बैठकको तयारी भइरहेको उनले जानकारी दिए। 

क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालय कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालयमा सञ्चालन गरिएको छ । त्यहाँ मुख्य निर्वाचन अधिकृत बारा जिल्ला अदालतका १ नम्बर न्यायाधीश प्रकाशकुमार अधिकारी छन् ।

यसैगरी क्षेत्र नम्बर १ मा निर्वाचन अधिकृतको कार्यालय कोल्हवी नगरपालिकाको कार्यालयमा खुलेको छ । यसमा निर्वाचन अधिकृत जिल्ला न्यायाधीवक्ता शम्भुकुमार बस्नेत छन् । क्षेत्र नम्बर २ मा निर्वाचन अधिकृत सर्वोच्च अदालतका उपरजिष्टार किरणकुमार सिंहलाई तोकेर महागढीमाई नगरपालिकाको कार्यालयमा कार्यालय सञ्चालन गरिएको छ । 

क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृतमा सर्वोच्चका इजलास अधिकृत गम्भीर घिमिरेलाई तोकेर जितपुरसिमरास्थित उखु बाली अनुसन्धान केन्द्रमा कार्यालय सञ्चालन गरिएको छ ।

लक्ष्मी साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully