वीरगन्जमा आयोजित माघी महोत्सवमा विभिन्न थारु परिकारको स्वाद चाख्न आउनेहरुमा अन्य समुदायका व्यक्ति बढी थिए।
What you should know
पर्सा — वीरगन्जका कानुन व्यवसायी अधिवक्ता शालिग्राम प्रसादलाई माघी महोत्सवमा घोंघीका परिकार चाख्ने इच्छा थियो ।
तर बिहीबार उनको यो इच्छा पूरा नभएपछि उनी थकथक गर्दै थिए। ‘खै किन हो यस वर्ष महोत्सवमा घोंघीको परिकार नै राखिएको रहेनछ,’ उनले भने, ‘घोंघीको परिकार बिना त माघी महोत्सव नै खल्लो हुने रहेछ ।’
कलाकारमुन्ना सर्राफले पनि त्यस्तै गुनासो गरे। ‘माघी महोत्सवमा मात्र हामीलेप्रायः वीरगन्जमा घोंघीको परिकार चाख्न पाउने हो,’ उनले भने, ‘तर यस वर्ष त्यो अवसरबाट बञ्चित भइयो ।’
वीरगन्जमा माघी महोत्सव मूल समारोह समितिद्वारा आयोजित माघी महोत्सवमा विभिन्न थारु परिकारको स्वाद चाख्न आउनेहरुमा अन्य समुदायका व्यक्ति बढी थिए। ‘मलाई यो पर्वको वर्षभरी प्रतीक्षा हुन्छ,’ स्थानीय विश्वराज गौतम भन्छन्, ‘यहाँ थारु परिकार चाख्न मात्र होइन, थारुकला र संस्कृतिलाई पनि नजिकबाट नियाल्ने अवसर पाइन्छ ।’
माघे सङ्क्रान्तिको अवसरमा वीरगन्जमा बिहीबार खिचडी तथा वीरगन्जस्थित स्विमिङ पुल परिसरमा आयोजित माघी महोत्सव आयोजना गरिएकाे हो। महोत्सवमा केकरा, माछा, परेवा, हाँसका विभिन्न परिकारले राखिएको छ। माघी महोत्सवमा विभिन्न विद्यालयका विद्यार्थीले थारु नृत्य तथा कला संस्कृति प्रस्तुत पनि गरेका छन्।
स्थानीय सरोज चौधरीले दशकयता जिल्लामा माघी महोत्सव मनाउन थालिएको बताए । ‘सुरुमा हामीले वीरगन्जमा माघी महोत्सव आयोजना गर्यौं,’ उनले भने, ‘बिस्तारै ग्रामीण भेगमा पनि थारु बहुल क्षेत्रमा माघी महोत्सव मनाउन थालियो ।’ वीरगन्ज मात्र नभई जिल्लाको ग्रामीण भेगमा पनि माघी महोत्सव आयोजना गरिएको छ ।
थारु अगुवा तथा अभियन्ता प्रकाश थारुले यस वर्ष भारतबाट भित्रिन लागेको घोंघी सीमाबाट प्रहरीले भित्रिन नदिएपछि वीरगन्जमा अभाव हुन गएको बताए ।
थारुसंस्कृति, भाषा, साहित्य, पहिचानको प्रवर्द्धन गर्न माघी महोत्सवले सकारात्मक योगदान गर्दै आएको उनले बताए। महोत्सवले एकै थलोमा भेला भएर थारु सम्वत् २६५० को शुभकामना आदानप्रदान गर्ने र भातृत्वको सम्बन्ध बिस्तार गर्न पनि भूमिका खेल्ने गरेको बताए। उनले केही वर्षयता थारु मात्र नभई अन्य समुदाय पनि माघी महोत्सवमा सहभागी हुन थालेकाले यो पर्व समावेशी बन्दै गएको बताए ।
