काली दहको क्षतिग्रस्त ड्याम निकुञ्ज प्रशासनले गर्‍यो मर्मत

वन्यजन्तुलाई पानी पिउन पाँच वर्षमा ३० कृत्रिम पोखरी निर्माण ।

पुस ३०, २०८२

शंकर आचार्य

The park administration repaired the damaged dam of Kali Daha.

पर्सा — गत वर्षामा क्षतिग्रस्त भएको पर्सा राष्ट्रिय निकुञ्जको कोर एरियामा रहेको काली दहको ड्याम निकुञ्ज प्रशासनले मर्मत सम्भारपछि दुरुस्त बनाएको छ ।

अन्य निकुञ्जको तुलनामा जंगली जनावरका लागि पिउने पानीको प्राकृतिक श्रोत कम रहेको यो निकुञ्जमा उपलब्ध प्राकृतिक जलाशयहरुको संरक्षण कार्यलाई निकुञ्ज प्रशासनले प्राथमिकतामा राख्दै आएको छ ।

निकुञ्जका संरक्षण अधिकृत सन्तोषकुमार भगत काली दहको ड्याममा क्षति पुगेर दहमा प्राकृतिक रुपले उम्रिने पानी संचित नहुने समस्या भएपछि ड्यामको मर्मत सम्भार गरेर दहमा पानी जोगाउने काम गरिएको बताए । ‘काली दह निकुञ्जको कोर एरियामा पर्छ, त्यहाँ पानी पिउन प्रचुर संख्यामा वन्यजन्तु आउँछन्,’ उनले भने, ‘दहमा पानी नभएपछि वन्यजन्तु पानीको अभावमा प्यासै रहने अवस्था आउँछ ।’

निकुञ्जमा यसबाहेक कामिनी, हल्खोरिया, हल्खोरिया मिनी, लौकी लगायतका दहहरु रहेका छन् ।  निकुञ्जमा रहेका अधिकांश खोला खहरे खोला हुन् । तिनमा वर्षायाममा मात्र पानी हुन्छ । वर्षको करिब ९ महिना ती खोला पानीविहीन हुन्छन् ।

यस्तो अवस्थामा निकुञ्जका वन्यजन्तुलाई सुख्खायाममा पानी पिउन झनै समस्या हुने भएकाले निकुञ्ज  प्रशासनले पाँच वर्षयता निकुञ्जको पानी उपलब्धता नरहेको क्षेत्रलाई लक्षित गरी कृत्रिम पोखरी निर्माणको कामलाई पनि तीव्रता दिएको छ । ‘पाँच वर्षमा निकुञ्जका विभिन्न क्षेत्रमा गरी अढाई दर्जन कृत्रिम पोखरी निर्माण गरिसकेका छौं,’ उनले भने, ‘हिउँदमा पानी कम भएपछि दैनिकजसो यस्ता पोखरीमा ट्यांकरबाट पानी हालेर भए पनि वन्यजन्तुको तिर्खा मेट्ने प्रयास हामी गरिरहेका हुन्छौं ।’

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully